सिरहा । सिरहामा प्रहरीकै सामुन्नेमा दलित समुदायका घरमा तोडफोड र लुटपाट भएको छ ।
कल्याणपुर नगरपालिका–८ अरङ गाउँका दलित समुदायका पाँच परिवारको घरमा शुक्रबार दिउँसो तोडफोड र लुटपाट भएको हो । अरङस्थित ठूलो पोखरीको उत्तरपट्टिको सार्वजनिक जग्गामा बसोवास गर्दै आएका राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानलाई स्थानीय केही व्यक्तिले दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन् ।
राजपुत समुदायका स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइनलगायत झन्डै ३० जनाको समूहले दुर्व्यवहार गर्दै घरमा तोडफोड र लुटपाट गरेको पीडित अशोक पासवानले बताउनुभयो । उनीहरूले घरमा भएका खाद्यान्न सामग्री, लत्ताकपडा, गरगहनासहित नगद पनि लुटेर लगेको अशोकको आरोप छ ।
यसअघि असोज १ गते विश्वकर्मा पूजाका दिन गाउँकै गुद्री बजारमा आर्केष्ट्रा ल्याइएको थियो । जसमा पासवान टोलका युवासँग प्रभास समूहको विवाद भएको थियो । इलाका प्रहरी कार्यालय, मिर्चैयामा असोज ३ गते उजुरी दिएकोमा अर्को पक्ष पटक-पटक समय लिएर पनि उपस्थित नभएपछि पछिल्लोपल्ट असोज २१ का लागि छलफल तोकिएको थियो । तर, छलफल हुन नपाउँदै उनीहरूले दलित समुदायको घरमा आक्रमण गरेका हुन् ।
शुक्रबार दिउँसो २ बजे दलित परिवारको गाउँमै पुगेर राजपुत समुदायका मानिसहरूले उजुरी फिर्ता लिन दबाब दिएका थिए । तर पीडितले गाउँमा छलफल गर्न अस्वीकार गर्दै इलाका प्रहरी कार्यालय, कल्याणपुरमा जानकारी दिएका थिए ।
लगत्तै दलित बस्तीमा प्रहरी पुगे पनि तोडफोड र लुटपाट भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले प्रहरीहरु थोरै भएको मौका छोपेर आक्रमण भएको बताए । घटना संलग्न गणेश कामतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।