आन्दोलनपछिका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ११० जनाविरूद्ध मुद्दा दर्ताको तयारी

कार्तिक ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
आन्दोलनपछिका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ११० जनाविरूद्ध मुद्दा दर्ताको तयारी

काठमाडौं । काठमाडौं प्रहरी परिसरले भदौ २३ को जेन-जी आन्दोलनपछिका घटनामा संलग्न भएको आरोपमा मंगलबारसम्ममा पक्राउ परेका १ सय १० जनाविरूद्ध मुद्दा दर्ताको तयारी गरेको छ ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार हालसम्म अनुसन्धान सकेर अदालत पेस भएकामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । तीमध्ये ४ जना प्रहरी हत्याका आरोपी हुन् । दुई जना भने आपराधिक उपद्रव कसुरका व्यक्ति भएको काठमाडौं प्रहरीले जनाएको छ । 

प्रहरी हत्याको आरोपमा कारागार चलान हुनेमा युवराज क्यापछापी, बुद्धिलाल तामाङ, होम पौडेल र टिकाराम बिक रहेका छन् । आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ३२ जना काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् भने ७२ जनालाई प्रहरीले हाजिरी जमानीमा छोडेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 

त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरले जेन-जी आन्दोलनमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न रहेको आरोपमा अहिलेसम्म २७ जनालाई पक्राउ गरेको छ । हाल एक जना प्रहरी हिरासतमा रहेका छन् भने २ जना कारागार चलान भएका छन् । 

अन्य २४ जना हाजिरी जमानीमा रहेको ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले जानकारी दिनुभयो । यता भक्तपुर प्रहरीले पनि अहिलेसम्म ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगुले ११ जनालाई पक्राउ गरिएको, त्यसमध्ये एकजना प्रहरी हिरासतमा रहेको र बाँकी १० जनालाई हाजिरी जमानीमा छाडिएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.