
काठमाडौं । जेन-जी समूहहरूलाई एकताबद्ध गर्न जेन-जीकै प्रतिनिधिले सरकारसँग सहयोग मागेका छन्।
जेन-जी युनाइटेड नामको समूहले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरूलाई मिलाइदिन आग्रह गरेका हुन् । सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भएको भेटमा जेन-जी प्रतिनिधिहरूले फरक-फरक माग र एजेन्डा लिएर जेन-जीहरू विभाजित भएकोमा चिन्ता व्यक्त गर्दै सबैलाई एक ठाउँमा ल्याउन सरकारले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले समेत जेन-जी समूह धेरै भएको र जेन-जीकै नाममा अराजकता फैलाउने कामसमेत भएकोमा चिन्ता व्यक्त गर्नुभयो । विभाजित जेन-जीलाई एकताबद्ध बनाउन आफूले सक्दो प्रयास गर्ने आश्वासन प्रधानमन्त्री कार्कीले दिनुभएको छलफलमा सहभागी प्रतिनिधिले जानकारी दिएका छन् ।
जेन-जी युनाइटेडका युवाहरूले मंगलबार नै एकताको आह्वान गर्दै काठमाडौंमा प्रदर्शनसमेत गरेका थिए ।