
मनाङ । हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा बाक्लो हिमपातले रोकिएका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
विशेष गरी तिलिचो बेस क्याम्पस र आसपासका क्षेत्रमा हिमपातका कारण रोकिएका करिब १५ सय पर्यटकलाई सुरक्षाकर्मीहरूको टोलीले हिउँ पन्छाएर बाटो खुलाउँदै सुरक्षित स्थानतर्फ सार्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयाे ।
उहाँका अनुसार खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फको क्षेत्रमा बाक्लो हिमपात पश्चात पर्यटकहरू रोकिएका हुन् । रोकिएका पर्यटकहरूलाई नेपाल प्रहरी, सशत्र प्रहरी बल र नेपाली सेनाको टोलीले बाटो खुलाउँदै सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।
मनाङको माथिल्लो क्षेत्रमा सोमबार राति साढे ९ बजेतिरबाट हिमपात सुरू भएको थियो । सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको प्रजिअ पौड्यालले बताउनुभयाे । चक्रिय अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिएसम्म जुन स्थानमा रहेको हो, सोही स्थानका सुरक्षित ठाउँहरूमा रोकिन प्रशासनले आग्रह गरेको थियो ।