
हुम्ला । जल तथा मौसम विज्ञान विभागको ताजा पूर्वानुमान अनुसार हुम्ला जिल्लासहित कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा यही कार्तिक १२ गतेदेखि वर्षा र हिमपात हुने सम्भावना रहेकोले स्थानियबासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले आग्रह गरेको छ।
प्रशासन कार्यालय हुम्लाले मंगलबार जारी गरेको सूचनामा उच्च भेगका बासिन्दा र ती क्षेत्रमा पुग्ने पर्यटकहरूलाई विशेष सतर्क रहन अनुरोध गरिएको छ। सूचनामा भनिएको छ उच्च हिमाली क्षेत्रमा पर्ने न्यालुलेक, लिमी लाप्चा, ताकुलेक नारा लेख मने लेख र मारूघोर लेखलगायतका क्षेत्रमा आगामी केही दिनसम्म हिमपातको सम्भावना बढी हुने भएकाले सो क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी तथा आवागमन गर्ने व्यक्तिहरूले अत्यधिक सतर्कता अपनाउन जरूरी रहेको बताइएको छ ।
प्रशासनले विशेष गरी ती क्षेत्रहरूमा बसोबास गर्ने सर्वसाधारण, यात्रु र पर्यटकलाई आवश्यक तयारी र पूर्वसावधानी अपनाउन सुझाव दिएको छ। मौसम प्रतिकूल हुने, सडक तथा पदमार्ग अवरूद्ध हुने र आवागमनमा कठिनाइ आउने सम्भावना भएकाले अत्यावश्यक कामबाहेक उच्च भेगतर्फको यात्रा नगर्न अनुरोध गरिएको छ।
सिमकोटसहित आसपासका क्षेत्रमा पनि वर्षा र हिमपातका कारण दैनिक जनजीवनमा असर पर्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। त्यस्तै, आकस्मिक अवस्थामा जिल्ला प्रहरी कार्यालयसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। सूचना अधिकारीको मोबाइल नम्बर ९८५८२७२०५४ र प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न सकिने जारी सूचनामा जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले हस्ताक्षर गरेको उक्त सूचनामा मौसमसम्बन्धि आवश्यक जानकारी लिएर मात्रै यात्रा गर्न र सबै सरोकारवालाहरू, विशेष गरी हिमाली क्षेत्रमा रहेका नागरिक र पर्यटकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
हालको मौसमीय प्रणालीका कारण हिमपात र वर्षाको जोखिम देखिएकाले जनजीवनमा असर पर्न सक्ने सम्भावना छ। त्यसैले समयमै तयारी र सचेतना नै सुरक्षा भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन ।
