वीरगञ्ज । केही दिनअघिसम्म बारा पर्सामा देखिएको खानेपानी समस्या अहिले धेरै हदसम्म समाधान भएको छ । साउन दोस्रो सातासम्म आकासबाट पानी नपरेको बारा पर्सामा अहिले नियमितजस्तै धेरैथोरै परिरहेको पानीले भूमिगत पानी रिचार्ज भएपछि अल्पकालीन रूपमा समस्याको समाधान हो ।
साउन दोस्रो सातासम्म तराईमा सुक्खा खडेरीका कारण पानी संकटको सामना गरेका बारा पर्साका नागरिकले अहिले निकै राहत पाएका छन् । यो राहत सरकारले नभई प्रकृतिले दिएको हो ।
साउनको दोस्रो सातासम्म पानी नपर्दा एकातिर धान रोपाइँमा समस्या भएको र रोपेको बाली पनि सुक्न थालेको थियो । बाली जोगाउन किसानलाई डिप बोरिङबाट पानी तानेर सिचाइँ गर्ने बाध्यता थियो ।
चापाकलबाट पानी आउन छोडेपछि खानेपानीका लागि यस भेगका स्थानीय काकाकुल थिए । स्थानीय तहदेखि डिभिजन वन कार्यालयसमेतको ट्याङ्करले पानी ओसारेर स्थानीयलाई वितरण गर्नुपर्ने अवस्था थियो ।
अहिले धेरै हदसम्म पानीको समस्या समाधान भएको छ । पछिल्लो समय तराईमा भैरहेको वर्षाले खेत सिञ्चित गरेसँगै किसान हर्षित छन् । डिप बोरिङबाट पानी तान्ने कामसँगै चापाकलहरूबाट सहजरूपमा पानी आउनथालेको छ ।
चैतदेखि नै तराईमा बढेको प्रचण्ड गर्मीले जमिनको आद्रतामा कमि ल्यायो । बादल लागे पनि त्यसमा वर्षा गराउने क्षमता अभावका कारण यस वर्ष साउन दोस्रो सातासम्म तराईमा पानी परेन । चुरेभावरहुँदै बग्ने खोलानाला सुके । पानी नपर्नु र चुरेबाट बग्ने खोलानालासमेत सुक्दा त्यसले तराईमा पानीको संकट नै ल्यायो ।
आकासबाट पानी नपरेपछि किसानहरू बाली जोगाउन र थप रोपाइँ गर्न चैतदेखि नै डिप बोरिङबाट लगातार पानी तान्न थाले । चुरेभावर नरसाउँदा जमिनमुनिको पानीको पुनर्रभरणको अभाव त थियो नै, भएको पानी पनि डिप बोरिङले तानेपछि सतहमुनि पानी घट्दा चापाकल पनि सुकेका थिए ।
अहिले चुरेभावर क्षेत्रमा भइरहेको वर्षाले जमिनमुनिको पानी पुनर्रभरण गरेको छ । जसका कारण भूमिगत पानीको मात्रा बढेपछि चापाकलमा पानी आउनथालेको हो ।
चुरेभावर क्षेत्र भनेको जमिनमुनिको पानी पुनर्रभरण गर्ने क्षेत्र हो । पछिल्लो समय चुरेभावर क्षेत्रमा भइरहेको प्राकृतिक सम्पदाको दोहनले एकातिर पानीका मुहान र मुहानका छिद्रहरू पुरिँदै गएको अर्कोतिर पानीको पुनर्रभरण गर्ने चुरे श्रंखलामै भइरहेको खेतिपाती जोगाउन डिप बोरिङ गाडेर पानी तान्दा तल्लो तटमा पानीको अभाव हुँदै गएको छ ।
तल्लो तटमा पनि उद्योगीदेखि किसानसम्मले जथाभावी डिप बोरिङ जडान गरि पानी तान्ने गर्नाले जमिनमुनिको पानीमा कमी ल्याउँदै गएको हो ।