वीरगञ्ज । बाराको निजगढ नगरपालिकाको सिँगौलमा वर्षौदेखि अतिक्रमित वनको झन्डै ३० बिघा जग्गा डिभिजन वन कार्यालयले खाली गराएको छ ।
वर्षौदेखि अतिक्रमित वनको झन्डै ३० बिघा जग्गामध्ये २० बिघाको अतिक्रमण खाली गराई डिभिजन वन कार्यालय बाराले बृक्षारोपण गरेको छ । विभिन्न संघ-संस्थाको नाममा अतिक्रमित वनको जग्गा फिर्ता लिन करिब पाँच वर्ष कानुनी लडाई नै लड्नुपर्यो । अहिले फिर्ता लिइएको करिब २० बिघा जग्गाको केराबारी फडानी गरी तारपोल लगाएर नयाँ बिरूवा रोपिएको हो ।
निजगढ नगरपालिका वडा नम्बर २ सिँगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वनक्षेत्रको २० दशमलव ७८ हेक्टर जग्गा विभिन्न साघसास्था तथा व्यक्तिले अतिक्रमण गरी त्यसमा केराबारी लगाएका थिए । केराबारी लगाएको उक्त जग्गामध्ये अहिले १३ हेक्टर अर्थात् करिब २० बिघा जग्गाको केराबारी फडानी गरेर डिभिजन वन कार्यालय बाराले विभिन्न प्रजातिका वनबिरूवा तथा फलफुलको बिरूवाको बृक्षारोपण गरेको हो ।
वन फडानी गरी केराबारी लगाएको यो जग्गा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूकै संलग्नतामा आवादी गराएको भन्दै अख्तियारमा उजुरी परेपछि २०७७ साल असार ११ गते अख्तियारले निर्णय सहित दोषी देखिएका व्यक्ति उपर कार्यवाही गर्न डिभिजन वन कार्यालय बारालाई निर्देशन दिएको थियो ।
सोही विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेपछि सर्तकता केन्द्रले समेत डिभिजन वनलाई निर्देशनात्मक पत्राचार गर्यो । वनको जग्गा अतिक्रमण प्रकरणमा डिभिजन वन कार्यालय बाराले २०८० पुष २६ गते वनदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सिद्धबहादुर थापालाई पक्राउ गरी अनुसन्धान अघि बढायो ।
अनुसन्धाको क्रममा ५२ जनाको सालग्नता रहेको तथ्य प्रमाणको आधारमा मिसिल तयार गरेकोमा तिमध्ये ३५ जना विरूद्ध सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत बारामा २०८० माघ २० गते मुदा दायर भयो ।
अदालतले अध्यक्ष थापासहित ९ जनामाथि वन फडानी र वन अतिक्रमणको कसुर गरेको ठहर गर्दै उनीहरूबाट जरिवाना असुल उपर गर्यो । केहीलाई सफाई दियो भने अदालतमा उपस्थित हुन नआएको केहीको हकमा मुद्धा मुलत बीमा राखेको छ ।
अदालतको यो फैसलासँगै अतिक्रमित जग्गा खाली गराउने बाटो खुलेपछि डिभिजन वन कार्यालय बाराको निर्देशनमा सब डिभिजन वन कार्यालय निजगढले बृक्षारोपण गरेको हो ।
वन फडानी गरी विभिन्न संघ-संस्था र व्यक्तिले वर्षौदेखि अतिक्रण गरेको र भाडामा लगाएर केराखेतिसँगै अन्य बाली लगाएको यो जग्गा उनीहरूले केही व्यक्तिलाई बेचबिखन समेत गरेको तथ्य बाहिरिएको थियो । डिभिजन वनले यो जग्गामा वनबिरूवासँगै फलफुलको बिरूवाको बृक्षारोपण गरेसँगै यहाँका स्थानिय खुसी छन् ।
काँडेतार र पोलले घेराबेरा लगाएर सारक्षण गरी बृक्षारोपण गर्न पर्याप्त बजेट नभएर अहिले १३ हेक्टर जग्गाको केराबारी फडानी गरी बृक्षारोपण गरेको डिभिजन वन कार्यालय बाराले चालु आर्थिक वर्षको बजेट निकासा भएपछि बाकि रहेको जग्गामा पनि बृक्षारोपण गर्ने जनाएको छ ।