काठमाडौं । सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको लामो रस्साकस्सीपछि अन्ततः सरकारले अर्थविद् विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । गभर्नर रिक्त भएको ४२ दिनपछि मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो । राष्ट्र बैंकको १८औं गभर्नर भएका पौडेलको पृष्ठभूमि के हो त ?
राष्ट्र बैंकको गभर्नर नियुक्त भएका विश्व पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्निया बर्कलेबाट सन् २०१० मा विद्यावारिधी गर्नुभएको थियो । उहाँसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारका रुपमा काम गरेको अनुभव पनि छ ।
पौडेलले इतिहास र अर्थशास्त्रबारे विशेष ज्ञान राख्नुहुन्छ । उहाँले राष्ट्रिय योजना आयोगको नेतृत्वसमेत गरिसक्नुभएको छ । २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका पौडेलले झन्डै १४ महिना आयोगको नेतृत्व गर्नुभयो ।
गत निर्वाचनमा चितवन क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेसको उम्मेदवार हुने भएपछि कार्यकाल नसकिँदै २०७९ असोजमा योजना आयोगको उपाध्यक्षबाट पौडेलले राजीनामा दिनुभएको थियो ।
तर, पौडेल चुनावमा पराजित हुनुभयो । त्यसयता काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत रहेका पौडेललाई सरकारले गत चैतमा गभर्नर सिफारिस समितिमा नियुक्त गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार गभर्नर बनाउने भनिएका गुणाकर भट्टको राजीनामा कायममुकायम गभर्नर निलम ढुंगानाले स्वीकृत नगरी अड्काएपछि कांग्रेसले पौडेललाई नै गभर्नर बनाउन प्रस्ताव गरेको थियो । त्यसपछि पौडेलले सिफारिस समितिको सदस्यबाट राजीनामा दिनुभएको थियो ।