महायज्ञको नाममा यसरी भत्काइएको थियो दलित परिवारको घर [तस्बिरसहित]

चैत्र ११, २०८१ |विनय आजाद
महायज्ञको नाममा यसरी भत्काइएको थियो दलित परिवारको घर [तस्बिरसहित]

सिरहा । सिरहाको औरही गाउँपालिका-५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा एक दलित परिवारको घर भत्काइएको घटनाका थप प्रमाणहरू फेला परेका छन् । कान्तिपुरले प्राप्त गरेको तस्बिरमा स्थानीय दीपक मल्लिकको घर जेसीबी लगाएर भत्काइँदै गरेको देखिन्छ ।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, आयोजक बजरंगी बाबा र पूर्ववडाध्यक्ष दिलिप यादव संलग्न उक्त घटनामा दुई जना पक्राउ परिसकेका छन् । पक्राउ परेका पालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवमाथि आइतबार अदालतबाट पाँच दिनको म्याद थप भएको छ । बजरंगी बाबा भने अझै फरार छन् ।

अहिले कानुनी कारबाही प्रक्रिया अगाडि बढेपछि पीडित परिवारलाई मिलापत्रका लागि प्रलोभन पनि दिन थालिएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादवका छोरा रुकेश यादव, ज्वाइँ इन्द्रदेव यादव लगायतले पीडित दीपक मल्लिकलाई भेटेर एक कट्ठा नम्बरी जग्गा दिने, पक्की घर बनाइदिने, खानेपानी, बिजुली सहितको व्यवस्था गरिदिने प्रलोभन दिँदै अदालतमा गएर बयान फेर्न आग्रह गरेका थिए । यति मात्र नभई आफूहरूले भनेको कुरामा विश्वास नभए लिखित कागज नै गरिदिने भन्दै फकाएका थिए ।

पीडकका आफन्तको दबाब थेग्न नसकेर आफू साथीकहाँ लुकेर बसेको मल्लिकले बताउनुभएको छ । “यसरी मिल्नु नै थियो भने हामी मुद्दा दिँदैनथ्यौं नि, यसअघि पनि धेरै लोभलालच देखाइयो,” दीपकले कान्तिपुर टेलिभिजनसँग भन्नुभयो, “हामी पीडित हौं, राज्यले न्याय दिन्छ कि दिँदैन, घर दिन्छ दिँदैन, सबै राज्यमाथि नै छाडिदिएका छौं ।”

यही चैत १७ गतेदेखि औरहीमा हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै मल्लिकको घर भत्काइएको थियो । मल्लिक त्यहाँ ३० वर्षदेखि बसोवास गर्दै आउनुभएको थियो ।

यो पनि पढ्नुस् : 

सिरहामा दलितमाथि ज्यादती : मिलापत्र गर्न पीडितलाई प्रलोभन, आरोपी छुटाउन राजनीतिक दबाब


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।