भ्याटका कारण भारतबाटै पर्यटक फर्किएको गुनासो

चैत्र १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्याटका कारण भारतबाटै पर्यटक फर्किएको गुनासो

काठमाडौं । सरकारले लगाएका करका कारण नेपालको पर्यटन क्षेत्र धरासायी हुँदै गएको पर्यटन व्यवसायीहरूले बताएका छन् । ट्राभल, ट्रेकिङदेखि होटेलसम्ममा लक्जरी कर लगाउँदै आएको सरकारले आर्थिक वर्ष २०८०/८१ देखि टिकटमा समेत भ्याट लगाएपछि पर्यटक आउने ढोका नै बन्द भएको उनीहरूको आरोप छ ।

नेपाल एसोशिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले भ्याटका कारण नेपाल आउने पर्यटक भारतबाटै फर्कन थालेको बताएका छन् ।

टिकटमा भ्याट लगाउनु इन्टरनेशनल एअर ट्रान्सपोर्ट एसोशिएशन (आएटा) को नियम विपरीत भन्दै व्यवसायीले यस्तो व्यवस्था तत्काल हटाउन माग गर्दै आएका छन् । सरोकारवाला मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले भ्याट हटाउन सकारात्मक भएको बताउँदै आए पनि दुई वर्षदेखि भ्याट हटेको छैन । जसका कारण नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले टिकटको मूल्य अचाक्ली बढाएका छन् । 

अहिले नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विमानस्थलको ट्राफिक र उच्च हावाले जहाज होल्ड गर्नुपर्ने समयको इन्धन खर्च समेत जोडेर टिकटको मूल्य बढाएका छन् । सरकारले दुई वर्षअघि बजेट मार्फत टिकटमा १३ प्रतिशत भ्याट लगाएको थियो । त्यस्तै पाँच तारे होटेलमा २ प्रतिशत लक्जरी कर लगाएको छ भने दुर्गम क्षेत्रमा ढुवानी गर्ने घोडा र खच्चडलाई समेत करको दायरामा ल्याउनुपर्ने भन्दै आएको छ ।

सम्बन्धित रिपोर्ट :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.