सिरहा । सिरहामा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवमाथि अदालतबाट पाँच दिनको म्याद थप भएको छ । सिरहा प्रहरी प्रमुख रमेश पण्डितका अनुसार, शुक्रबार साँझ पक्राउ परेका उनीहरूलाई आइतबार सिरहा जिल्ला अदालतले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद दिएको हो ।
औरही गाउँपालिका-५ मा यही चैत १७ गतेदेखि औरहीमा हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
यस घटनामा पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा तीनै जनाविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारबाही सहित क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।
जातीय छुवाछूत सम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । घटनाका आरोपी बजरंगी बाबाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।