सुनसरी । इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा रहेको व्यापारिक कम्प्लेक्स सेन्ट्रल प्लाजामा बुधबार बिहान आगलागी भयो । १० तल्ले भवनको पाँचौं तलामा बिहान साढे ९ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई ६ घण्टाभन्दा बढी लाग्यो । साढे ३ सयभन्दा बढी जनशक्ति र १६ वटाभन्दा बढी दमकल भेला पारेर प्रयास गरिए पनि आगलागी नियन्त्रणमा आउन ६ घण्टाभन्दा बढी समय लाग्यो ।
इटहरीको यो घटनाले बहुतल्ले अग्ला-ठूला भवनमा आगलागी हुँदा उद्धार र नियन्त्रणमा आउने कठिनाइबारे ठूलो पाठ सिकाएको छ ।
अन्डरग्राउन्ड पार्किङदेखि होटेल, सिनेमा हल, बैंक, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठूला पसलहरू रहेको यस प्लाजामा कार्यालय समय सुरु हुनु केहीअघि आगलागी भएको तथा उक्त समयमा सिनेमा हल चालु नभएकाले मानवीय क्षति भने हुन पाएन ।
आगलागी नियन्त्रणमा लिने क्रममा पाँच सुरक्षाकर्मी सहित सात जना घाइते भए । उक्त भवनमा फसेका ११ जना सर्वसाधारणको सकुशल उद्धार भयो । उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर मगाएर परिचालित गरियो । निकै ढिला गरी आइपुगेको क्रेनको सहायताले पानी हालियो । आयल निगमबाट लगेको फोम पनि प्रयोग भयो । तर पनि आगलागी नियन्त्रणमा लिन निकै समय खर्चनुपर्यो ।
इटहरीमा भएको आगलागीको यो घटनाले परम्परागत दमकलले मात्रै अग्ला भवनमा आगो निभाउन नसकिने देखाएको छ । यस्तै आगलागीको लागि पूर्वतयारी र अभ्यास तथा दक्ष जनशक्ति अभाव देखाएको छ ।
इटहरीको यो आगलागी घटनाले अग्ला भवनमा आगो निभाउने उपकरणको आवश्यकता खड्काएको मात्र छैन अग्ला भवनमा कसरी आगो निभाउने र कस्ता प्रविधि अपनाउने भन्ने पाठ सिकाएको छ ।