अहिलेको संविधानको अर्को विकल्प हुन सक्दैन : उपप्रधानमन्त्री सिंह

चैत्र १४, २०८१ |पुजन धिताल
अहिलेको संविधानको अर्को विकल्प हुन सक्दैन : उपप्रधानमन्त्री सिंह

काभ्रे । बनेपा नगरपालिकाले आफ्नो स्थापनाको ४४ औं वर्ष पूरा गरेको छ । नगरको वार्षिकोत्सवको अवसरमा  आयोजित कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शुभकामना व्यक्त गर्दै संविधानका बारेमा धारणा राख्नुभयो ।

उहाँले हालको संविधानकै आधारमा मुलुक अगाडि बढिरहेको र अहिलेको संविधानको विकल्प अर्को संविधान हुनै नसक्ने बताउँदै भन्नुभयो, “जनताका अधिकार कुनै व्यक्तिको दया मायाले आएको होइन, यो संघर्षको परिणाम हो । अधिकार सुरक्षित राख्नुपर्छ ।”

उपप्रधानमन्त्री सिंहले संविधान संशोधन गर्दै जानुको विकल्प नभएको पनि स्पष्ट पार्नुभयो । 

यस्तै स्मार्ट सिटी विकासका लागि आवश्यक मापदण्डहरू तयार पार्न सरकारले पहल गरिरहेको उहाँको भनाइ थियो । मन्त्रिपरिषद्‌मा निर्णय भए पश्चात् मात्र यस विषयलाई अघि बढाइने उल्लेख गर्दै सिंहले स्मार्ट सिटीको अवधारणा कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

नगरको स्थापना दिवसको अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको थियो । नगरका कर्मचारी, शिक्षामा योगदान दिने व्यक्तित्वहरू, खेलकुद तथा कृषिमा उत्कृष्ट कार्य गर्ने किसानहरू, साथै एसईईदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । साथै हालसालै काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त हुनुभएका प्राडा अच्युतप्रसाद वाग्लेलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, र नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।