सिरहा । सिरहाको औरही गाउँपालिका-५ मा दलितमाथि ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढेपछि पीडित परिवारलाई मिलापत्रका लागि प्रलोभन दिन थालिएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादवका छोरा रुकेश यादव, ज्वाइँ इन्द्रदेव यादव लगायतले पीडित दीपक मल्लिकलाई भेटेर प्रलोभन दिएका हुन् ।
उनीहरूले एक कट्ठा नम्बरी जग्गा दिने, पक्की घर बनाइदिने, खानेपानी, बिजुली सहितको व्यवस्था गरिदिने प्रलोभन दिँदै अदालतमा गएर बयान फेर्न आग्रह गरेका थिए । यति मात्र नभई आफूहरूले भनेको कुरामा विश्वास नभए लिखित कागज नै गरिदिने भन्दै फकाएका थिए । सिरहा अदालतले पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई आइतबार ५ दिनको म्याद थप गरिसकेको छ ।
पीडित दीपकले आफूले केही जवाफ नदिई हिँडेको बताएका छन् । पीडकका आफन्तको दबाब थेग्न नसकेर आफू साथीकहाँ लुकेर बसेको दीपकले बताए । “यसरी मिल्नु नै थियो भने हामी मुद्दा दिँदैनथ्यौं नि, यसअघि पनि धेरै लोभलालच देखाइयो,” दीपकले कान्तिपुर टेलिभिजनसँग भन्नुभयो, “हामी पीडित हौं, राज्यले न्याय दिन्छ कि दिँदैन, घर दिन्छ दिँदैन, सबै राज्यमाथि नै छाडिदिएका छौं ।”
राष्ट्रिय रूप लिएको घटनाका पीडितलाई प्रलोभन दिएर मिलापत्र गराउन भइरहेको प्रयास आपत्तिजनक रहेको औरही निवासी पूर्वसांसद सुरेशचन्द्र दास बताउँछन् । यस्तो बेला पीडितको संरक्षण र सहयोग गर्ने दायित्व राज्यको भए पनि यसमा राज्य चुकिरहेको उनको भनाइ छ ।
आरोपीलाई छुटाउन जसपा नेपालको दबाब
उता, गाउँपालिका अध्यक्ष यादव आबद्ध जनता समाजवादी पार्टी, नेपालको जिल्ला समिति, सिरहाले यादवलाई थुनामुक्त गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र नै बुझाएको छ । सिरहाको अर्नमा गाउँपालिकाका अध्यक्ष समेत रहेका जिल्ला अध्यक्ष अशोककुमार यादव नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई ज्ञापनपत्र बुझाएको हो ।
निर्वाचित जनप्रतिनिधि लगायत व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप जसपा नेपालले ज्ञापनपत्र मार्फत आरोप लगाएको छ । पक्राउ गरिएकाहरूलाई रिहा नगरिए आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार प्रहरी प्रशासन हुने चेतावनी समेत जसपा नेपालले दिएको छ ।
जसपाका केन्द्रीय अध्यक्ष भन्छन्–उत्पीडित समुदायको अधिकारका लागि प्रतिबद्ध छु
दलितमाथि ज्यादती गर्ने गाउँपालिका अध्यक्षमाथि कानुनी कारबाहीका लागि सघाउनुको साटो संरक्षण गरेको भन्दै आलोचना भएपछि पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफू उत्पीडित जात–जातिको अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
निजी सचिव महेश चौरसिया मार्फत सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले क्षणिक लाभका लागि सामाजिक सद्भाव र सहिष्णुता भाँड्ने, व्यक्ति र संगठनको चरित्र हत्या गर्ने तथा समाजमा एक आपसमा घृणा फैलाउने उद्देश्यले प्रेरित भई नियोजित ढंगले गलत प्रचार भइरहेको उल्लेख गरेका छन् ।
चैत १७ गतेदेखि औरहीमा हुने भनिएको महायज्ञका नाममा महायज्ञस्थलमा रहेको दीपकको घर फागुन १० गते गाउँपालिकाकै डोजर लगाएर भत्काइएको थियो । यति मात्र नभई उनको घर रहेको माटो समेत अपवित्र भन्दै डेढ फिटसम्म खनेर त्यहाँबाट फालिएको थियो । उक्त प्रकरणमा गत शुक्रबार पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवमाथि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पीडित दीपक मल्लिकले शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र महायज्ञका मूलपुजारी भनिएका तथाकथित बजरंगी बाबामाथि किटानी जाहेरी दिएका थिए । बजरंगी बाबा भने अझै फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पीडित परिवारको खोला किनारमा वास
पीडित परिवार अहिले गाउँको एकान्तमा गल्फु खोला किनारमा रहेको सामुदायिक विद्यालयको जग्गामा बाँस र जस्ताको झुपडी बनाएर बसिरहेको छन् । त्यहाँ न खानेपानीको सुविधा छ, न बिजुलीको । घरमा राति टुकी बालेर काम चलाउँदै आएका दीपकको परिवारको दैनिकी खानेपानीको अभावमा कष्टकर बनिरहेको छ ।