बजेटको प्रस्ताव बुझाउन विषयगत मन्त्रालयलाई भोलिसम्मको समय

चैत्र १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजेटको प्रस्ताव बुझाउन विषयगत मन्त्रालयलाई भोलिसम्मको समय

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८२/०८३ बजेटका लागि भोलिसम्म प्रस्ताव पेश गर्न अर्थ मन्त्रालयले मन्त्रालयहरूलाई आग्रह गरेको छ । बजेटको नयाँ कार्यतालिका अनुसार एलएमबीआईएस अर्थात् सरकारी प्रणालीमा बजेट प्रविष्ट गर्न भोलिसम्मको अन्तिम समयसीमा तोकिएको हो ।

अर्थ मन्त्रालयले नयाँ बजेटका विषयमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको थियो । यसअघि अर्थले भौतिक, शहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, कृषि, उद्योग लगायतका १६ वटा मन्त्रालयसँग छलफल सकेको छ । सीमित स्रोत र साधनका बीच अधिकतम प्रतिफल दिने गरी बजेट निर्माणको तयारी भइरहेको अर्थ मन्त्रालयका उच्च अधिकारीको भनाइ छ ।

यस्तै बजेट पेश हुनुभन्दा अघि पेश गरिने नीति तथा कार्यक्रमको मस्यौदा पनि अर्थ मन्त्रालयले प्रधानमन्त्रीको कार्यालयमा बुझाएको छ । एक वर्षभित्र मुलुकलाई ग्रे लिस्टबाट बाहिर निस्कने गरी कार्ययोजना, दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना जस्ता ११ बुँदे प्राथमिकता सहितको मस्यौदा मन्त्रालयमा बुझाएको हो ।

आउँदो आर्थिक वर्षका लागि १९ खर्ब १५ अर्ब रुपैयाँको बजेट सिलिङ रहेको छ । आउँदो वर्ष केन्द्र सरकारले तीन करोडसम्मका मात्र कार्यक्रम सञ्चालन गर्ने, पालिकाहरूलाई दिइँदै आएको समपूरक र विशेष अनुदान वृद्धि गर्न कार्यविधि नै संशोधन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.