साउनयता मात्रै आगलागीबाट देशभर ६६ जनाको मृत्यु, दैनिक १४ वटा घटना हुँदा विपद् व्यवस्थापन चुनौतीपूर्ण

पूर्वतयारी नहुँदा शहरका अग्ला संरचना झनै जोखिममा
चैत्र १४, २०८१ |विकास आचार्य
साउनयता मात्रै आगलागीबाट देशभर ६६ जनाको मृत्यु, दैनिक १४ वटा घटना हुँदा विपद् व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौं । बढ्दो जनघनत्व तथा थपिँदै गएका अग्ला घरका कारण शहरी क्षेत्रमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो समय शहरी क्षेत्रमा आगलागीका घटना बढिरहेका छन् । देशभर दैनिक १४ वटा आगलागीका घटना हुने गरेका छन् भने चालु आर्थिक वर्षको हालसम्म आगलागीबाट ६६ जनाको मृत्यु भइसकेको छ । तर दक्ष जनशक्ति, प्रविधि र सूचना प्रणाली नहुँदा शहरी क्षेत्रमा विपद्को जोखिम बढ्दो छ ।

काठमाडौं महानगरपालिकासँग चालु अवस्थामा ६ वटा वारुणयन्त्र छन् । तर ती साँघुरा गल्लीमा प्रवेश गर्न कठिन भएपछि थप ३ अत्याधुनिक यन्त्र खरिदको प्रक्रियामा महानगर छ । यस्तै भक्तपुर नगरपालिकासँग पनि ४ वटा वारुणयन्त्र छन् । आगलागी जस्ता विपद्का घटनाका लागि २४ सै घण्टा कर्मचारी ड्युटीमा हुन्छन् । ललितपुर महानगरपालिकासँग एक अत्याधुनिक तथा पाँच साधारण गरी ६ वटा वारुणयन्त्र छ । ललितपुरले वारुणयन्त्र, पानी बोक्ने गाडी र एम्बुलेन्सका लागि मात्रै २० कर्मचारी नियुक्त गरेको छ । जसमध्ये १५ कर्मचारी र नगर प्रहरीहरू २४ सै घण्टा ड्युटीमा खटिन्छन् । आगलागीको घटना थाहा पाउनासाथ वा फोन आए २ मिनेटभित्र टोली घटनास्थल हिँडिसक्छ । सानो र प्रविधियुक्त वारुणयन्त्र भएकाले काठमाडौं उपत्यकाभरि ललितपुरको वारुणयन्त्रको माग हुने गरेको छ, जसले ४० तलासम्मको आगो नियन्त्रणमा लिन सक्ने महानगरको दाबी छ ।

तर घना बस्तीका घरका कारण शहरी क्षेत्रमा आगलागीका घटना व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएका छन् । जसको प्रमुख कारण हो मापदण्ड विपरीतका संरचना । काठमाडौं, ललितपुर र भक्तपुरमा ८० प्रतिशतभन्दा बढी भवन मापदण्ड विपरीतका रहेको अध्ययनहरूले देखाएका छन् । काठमाडौं उपत्यका बाहिर पनि भवनसंहिताको पालना भएको पाइँदैन ।

नेपाल प्रहरीको तथ्यांक अनुसार देशभर दैनिक १४ वटा आगलागीका घटना हुने गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म आगलागीबाट ६६ जनाको मृत्यु भइसकेको छ भने ३९६ जना घाइते छन् । एक अर्ब ३३ करोड बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । करिब ३० प्रकारका विपद्को सामना बर्सेनि बेहोर्नुपर्छ । आगलागीको विपद् प्राकृतिकभन्दा मानवीय कारणले बढी हुने हुँदा घटना हुनै नदिन र भइहाले ज्यान बचाउन सकिने विज्ञहरूको दाबी छ । 

तर, त्यसका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, आगो निभाउने दस्तालाई तालिम दिनुपर्ने र राज्यले यन्त्र उपकरणमा लगानी गर्नुपर्ने उनीहरू बताउँछन् ।

मुलुकमा वडास्तरदेखि पालिका, जिल्ला, प्रदेश र संघमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन निकाय छन् । तिनमा करिब ७ अर्ब बजेट हाल मौज्दात रहेको छ । तर, दक्ष जनशक्ति, प्रविधि र सूचना प्रणाली नहुँदा विपद्को जोखिम बढ्दो छ । राष्ट्रिय विपद् प्राधिकरण तत्लो तहले कामै नगरेको भनेर दोष थोपरेर मात्र बसेको छ ।

नेपालमा मौसम परिवर्तनपिच्छे नयाँ विपद्को सामना गर्नुपर्ने बाध्यता छ । यसर्थ, घर, गोठ र पसलमा हुने आगलागीबाट सुरक्षित रहन, मापदण्ड अनुसारको संरचना बनाउन, आगो सम्बन्धी जानकारी दिने नयाँ प्रविधि जडान गर्न, निभाउने उपकरण तम्तयार राख्न, पानीको स्रोत पहिचान गरी संरक्षण गर्न, दमकल छिर्नसक्ने बाटो बनाउन र अधिकतम सावधानी अपनाउन अपरिहार्य छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।