सिरहा । महायज्ञ गर्ने भन्दै दलित परिवारको घरमा डोजर चलाएको घटनामा सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि पीडितलाई धाकधम्की आउन थालेको छ । अध्यक्ष यादवका छोरा रुकेशले शुक्रबार राति घरमै पुगेर पीडितलाई धम्क्याएका हुन् ।
यादव पक्राउ परेपछि रुकेश एक समूह लिएर शुक्रबार राति साढे ८ बजेतिर पीडित दीपक मल्लिकको घर पुगेर पीडित परिवारलाई आफूसँगै सिरहा हिँड्न र प्रहरीमा गएर केही भएको होइन भन्ने बयान दिन धम्क्याएका थिए ।
तर, रुकेशको प्रस्ताव अस्वीकार गरेको दीपक मल्लिकको परिवारले आफूलाई असुरक्षित ठानेर राति आफन्तकहाँ शरण लिएको छ । पीडित दीपकले आफूले राति नै घर छाडेर आफन्तकहाँ बसेको र बालबच्चा भने प्रहरीको सुरक्षाबीच घरमै सुतेको जानकारी दिनुभएको छ । यसैबीच पीडित परिवारलाई सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताउनुभएको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै पीडितलाई सुरक्षा दिइरहेको उहाँको भनाइ छ ।
यसअघि प्रहरीले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई पक्राउ गरेको थियो । अर्का आरोपी बजरङ्गी बाबा भने अझै फरार रहेका छन् ।
सम्बन्धित समाचार :
सम्पादकीय : जातीय विभेदको अन्त्य घोषणाले मात्र हुन्न, पीडितलाई न्याय चाहिन्छ
महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जना फरार