गाजा युद्धमा मारिने प्यालेस्टिनीको संख्या ५० हजार नाघ्यो

चैत्र १०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजा युद्धमा मारिने प्यालेस्टिनीको संख्या ५० हजार नाघ्यो

काठमाडौं । इजरायल हमास युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी गाजामा मारिने प्यालिस्टिनीको संख्या ५० हजार नाघेको छ । हमासमा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीको संख्या ५० हजार २१ पुगेको छ भने यो संख्या युद्ध सुरु हुनुअघिको २३ लाख जनसंख्याको करीब २.१ प्रतिशत हो । 

यस अवधिमा एक लाख १३ हजार २७४ जना घाइते भएका छन् । मारिनेमा कति गैरसैनिक र कति हमास लडाकु थिए भन्ने कुरा भने छुट्याइएको छैन । २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अचानक र अभूतपूर्व रूपमा आक्रमण गरी करीब १२ सयको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएपछि त्यसको प्रतिकारमा इजरायलले गाजामाथि भीषण सैन्य कारबाही थालेको थियो ।

गाजा युद्ध सुरु भए यता २०२३ को नोभेम्बरमा ७ दिनका लागि र त्यसपछि यसैवर्षको जनवरी १९ देखि गरी दुई पटक अस्थायी युद्धविराम भएका छन् । दुवै पटक गरी हमासले ८ शवसहित १४७ बन्धक रिहा गरेको छ । यस्तै इजरायली सेनाले ८ जना बन्धकलाई जीवितै मुक्त गराएको छ भने ४१ जनाको शवको उद्धार गरेको छ । 

हमासको नियन्त्रणमा अहिले पनि ५९ बन्धक रहेको र तीमध्ये २४ जना मात्र जीवित रहेको विश्वास गरिएको छ । यी बन्धकमा हमासले अक्टोबर ७ मा अपहरण गरेका २५१ जनाका अतिरिक्त २०१४ र २०१५ मा गाजा प्रवेश गरेका दुई जना र २०१४ को युद्धमा मारिएका दुई सैनिकको शवको तथ्यांक पनि समेटिएको अन्तर्राष्ट्रिय समाचार समिति एपीले जनाएको छ ।

यही मार्च १८ मा इजरायलले गाजामाथि भीषण हवाई आक्रमण गरी चार सयभन्दा बढीको ज्यान लिएपछि जनवरी १९ देखि सुरु भएको युद्धविराम धराशायी भएको थियो । पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट कम्तीमा ३९ जना मारिएको, मारिनेमा हमासका एक जना वरिष्ठ नेता सलाह अल वर्दाविल र उनकी श्रीमती समेत भएको जनाइएको छ । यससँगै मार्च १८ यता मारिने प्यालेस्टिनीको संख्या ६७३ पुगेको बीबीसीले जनाएको छ ।