काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आजको पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको छ । २८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाई २४२ रन बनाएपछि हैदराबादले आईपीएलमा विजयी सुरुआत गरेको हो ।
राजस्थानले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २८६ रन बनाएको थियो । हैदराबादको शीर्षक्रमका सबै ब्याटरले राम्रो प्रदर्शन गरे । अभिषेक शर्माले ११ बलमै २४ रन जोडेर आउट भए । राम्रो गति प्रदान गर्ने क्रममा अर्का ओपनर ट्रेभिस हेडले २१६ को स्ट्राइक रेटमा ६७ रनको योगदान गरे ।
शानदार ब्याटिङ गरेका इशान किसनले ४७ बलमा अविजित १०७ रन बनाएका थिए । उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यसपछि नितीशकुमार रेड्डीले ३० र हेनरिच क्लासेनले ३४ रन बनाएपछि हैदराबादले विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
हैदराबादका ब्याटरले खुलेर ब्याट चलाए पनि तुषार देशपाण्डे तीन र महिश थिक्सानाले दुई विकेट लिएका दिए । जवाफमा राजस्थानले सोचे जस्तो सुरुआत गर्न सकेन । बरु समरजित सिंहले यसस्वी जैशवाललाई एक रनमा क्याचआउट गराए । सन्जु समसनले ६६ रनको योगदान गरे । पाँचौं नम्बरका ध्रुव जुरेलले ७० रन जोड्न सके पनि राजस्थानले लक्ष्य पूरा गर्न सकेन ।
अन्तिममा सुभम् दुवेले पनि अविजित ३४ रन बनाएका थिए । हैदराबादको लागि समरजित र हर्षल पटेलले समान दुई-दुई विकेट लिएका थिए । त्यसैगरी मोहम्मद शामी र एडम जाम्पा एक एक विकेट आफ्नो नाममा गरेका थिए । यो जितसँगै हैदराबादले दुई अंक जोडेको छ ।
आईपीएलको आजको दोस्रो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको प्रतिस्पर्धा चलिरहेको छ ।