काठमाडौं । नेपालमा आजकाल मौसम सम्बन्धी अनुमान धेरैजसो मिल्ने गरेको छ । प्रविधिमा आएको सुधार र पहुँचसँगै जल तथा मौसम विज्ञान विभागले गर्ने अनुमान पनि वास्तविक तथ्यांकमा आधारित हुने गरेको छ ।
विभागले हाल ३ दिनको पूर्वानुमान गर्ने गरेकोमा ७ दिनको गर्ने लक्ष्य राखेको छ । तर विभागको सूचना र अनुमानलाई अझै पनि धेरैले गम्भीरतापूर्वक लिने गरेको पाइँदैन ।
यो वर्षको असोज दोस्रो साता देशभर ठूलो पानी पर्यो । देशभर रहेका २५ वटा मौसम स्टेसनमा रेकर्ड ब्रेक वर्षा मापन भयो । तर जल तथा मौसम विज्ञान विभागले असोज ९ गते नै ठूलो पानी पर्ने अनुमान सार्वजनिक गरिसकेको थियो भने आवश्यकता सतर्कता अपनाउन सचेत समेत गराएको थियो । तर सरकारी संयन्त्रले यसलाई गम्भीरतापूर्वक नलिँदा ठूलो क्षतिको सामना गर्नुपर्यो ।
नेपालमा पछिल्लो समय मौसम सम्बन्धी अनुमान धेरै मिल्न थालेको छ । विभागका अनुसार नेपालको आफ्नै रेडार छ, त्यसमाथि प्रविधिमा आएको सुधार र पहुँचका कारण मौसम पूर्वानुमान मिल्ने गरेको छ । अहिले नेपालमा जल तथा मौसम सम्बन्धी तथ्याङ्क लिन ८ सय स्टेशन रहेकोमा करिब साढे ४ सय स्टेशनले रियल टाइम डेटा दिन्छन् । हाल ३ दिनको पूर्वानुमान गर्ने गरिएकोमा १६ औं योजनाको अन्त्यसम्म ७ दिनसम्मको अनुमान गर्ने क्षमतामा नेपाल पुगिसक्ने छ ।
“३ दिनबाट ७ दिनमा जाने भनेको हामीले मोडलको एक्युरेसी र पर्फरमेन्स चाहिँ बढाउँदै लाने हो । र त्यसमा हामीलाई कन्फिडेन्स हाम्रो विगतको अनुभवले बढेको छ । त्यही भएर हामीले १६ औं योजनाको अन्तसम्म ७ दिनको पूर्वानुमान गर्छौं । त्यो मात्र हैन, अब हामी पानी पर्छ मात्र भनेर भन्दौनौं, पानी परेर कतिसम्म गर्न सक्छ र यसले के गर्छ भन्ने इम्प्याक्ट बेस्ड फोरकास्टिङ, प्रभावमा जाने पूर्वानुमानसम्म जाने तयारीमा जल तथा मौसम विज्ञान विभाग हिँडिसकेको छ”, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले बताउनुभयो ।
मौसम पूर्वानुमान गर्न हजारौं किलोमिटर टाढा रहेका हिन्द तथा प्रशान्त महासागर, एसिया र यूरोपमा परेको हिउँ तथा ३० किलोमिटरमाथि रहेको वायुमण्डलीय अवस्थासम्मलाई हेर्नुपर्ने हुन्छ । तर अनुमान कतिपय अवस्था सर्वसाधारण र सरकारी संयन्त्रले नपत्याइदिँदा समस्या हुने गरेको विभागको गुनासो छ । विगतको भन्दा अवस्था निकै मजबुत भइसकेका पूर्वानुमानलाई समयमै आत्मसात गर्न सके र जनमानस समक्ष पुर्याउने सके क्षति न्यूनीकरण हुने जानकार बताउँछन् ।
मौसम पूर्वानुमान सम्बन्धी सूचना वैज्ञानिक हुँदै गएका छन् । यस्ता सूचनालाई गम्भीर रूपमा लिँदै सरकारी संयन्त्रले तत्काल काम गरेमा क्षति कम हुन्छन् । यसका साथै यस्ता सूचना नागरिकस्तरसम्म पुर्याउने संयन्त्रको विकास गर्न समेत जरुरी छ ।