आरोपीले धमाधम सफाइ पाउन थालेपछि अख्तियारले घटायो मुद्दा दर्ता

परिपक्व अनुसन्धान गरेर मात्रै विशेष अदालतमा मुद्दा लैजान विज्ञको सुझाव
चैत्र १०, २०८१ |किरण पौडेल
आरोपीले धमाधम सफाइ पाउन थालेपछि अख्तियारले घटायो मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराउने क्रम आधाले घटेको छ । गत वर्ष फागुनसम्म १२२ वटा मुद्दा दर्ता गराएको अख्तियारले यस वर्षको सोही अवधिमा ६३ वटामा दर्ता गरेको छ । 

दायर गरिएका मुद्दामध्ये अधिकांशमा आरोपीले सफाइ पाएका छन् भने दर्जनौं मुद्दामा माग दाबी नपुग्ने ठहर हुने गरेको छ । विज्ञहरु अख्तियारले मुद्दाको संख्या घटाउनुभन्दा विशेष अदालतले औंल्याएका कमजोरी सुधार्ने र अभियोजनमा ध्यान दिन आवश्यक रहेको सुझाव दिन्छन् ।

अख्तियार दुरुपयोग अनुसन्धानले गत आर्थिक वर्षको फागुनसम्म १२२ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो । तर, यो वर्षको सोही अवधिमा ६३ वटा मुद्दा मात्र दर्ता गरेको छ । अर्थात् अख्तियारले विशेषमा लैजाने मुद्दा आधाले घटेको छ । यस्तै, गत वर्षको फागुनमा २३ मुद्दा दर्ता गराएको अख्तियारले यो वर्षको फागुनमा २ वटा मुद्दा मात्र दर्ता गरेको छ ।

मुद्दा दर्ताको क्रम किन सुस्तायो भन्ने प्रश्नको स्पष्ट जवाफ अख्तियारसँग पनि छैन । यता, सर्वोच्चमा हुने पुनरावेदनमा भने अस्वाभाविक वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा ९२ मुद्दा पुनरावेदन गरेको अख्तियारले चालु आर्थिक वर्षको ८ महिनामै १६२ मुद्दामा पुनरावेदन गरिसकेको छ ।

अख्तियारले विशेषमा लगेका अधिकांश मुद्दामा आरोपीले सफाइ पाएका छन् भने मागदाबी नपुगेका पनि सयौं छन् । गत आर्थिक वर्षमा अख्तियारले दायर गरेकामध्ये ५०६ वटा मुद्दाको फैसला गर्दा ३४७ मा अख्तियारको माग दाबी पुगेन । २४३ मुद्दाका आरोपीले सफाइ पाउँदा १०४ मुद्दामा अख्तियारको दाबी आंशिक ठहर भयो । १५९ वटामा मात्रै अख्तियारको मागदाबी ठहर भयो । 

लामो अनुसन्धानपछि दर्ता गराएका अधिकांश मुद्दामा असफलता हात परेपछि असन्तुष्ट अख्तियारले चालु आर्थिक वर्षमा मुद्दा दर्ता नै घटाएको देखिन्छ । हदम्याद गुज्रिने मुद्दा मात्र ल्याएको देखिएको विशेष अदालतका अधिकारीहरूको भनाइ छ । तर, विज्ञहरू भने मुद्दा घटाउनुभन्दा विशेषले औंल्याएका विषय र कमजोरीलाई अख्तियारले सुधार्नुपर्ने सुझाव दिन्छन् ।

तर अनुसन्धान नै कमजोर भएको भन्ने आरोपलाई भने अख्तियारका अधिकारीहरू अस्वीकार गर्छन् । विशेष अदालतबाट भएका फैसलामा आफ्नो दाबी नपुग्ने ठहर हुँदा चित्त नबुझाएको अख्तियारले धमाधम सर्वोच्चमा पुनरावेदन गरिरहेको छ । 

ठूला भ्रष्टाचारका मुद्दामा छानबिन नै नगर्ने, तर सानातिना विषयमा केन्द्रित हुने गरेको आरोप अख्तियारमाथि लाग्दै आएको छ । अहिले पनि ठूला भ्रष्टाचारका थुप्रै फाइल तामेलीमा छन् भने कतिपय मुद्दामा सर्वत्र प्रश्न उठ्दा पनि अख्तियार मौन देखिन्छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।