काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । सरकारबाट आर्थिक वर्ष २०८०-०८१ मा भएका प्रमुख कार्यहरुको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रधानमन्त्री ओलीले जनताको हित नै आफ्नो प्राथमिकता भएको दाबी गर्नुभयो ।
सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको उहाँको भनाइ छ । यसैगरी बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको र नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटर लगायतका सेवाहरूमा घण्टौं लाइन लाग्ने अवस्थाको अन्त्य भएको प्रधानमन्त्रीको दाबी छ ।
वैदेशिक रोजगार तथा स्वदेशमा रहेका श्रमिकहरूको अधिकार संरक्षण एवं मिटरब्याज जस्तो सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारका तर्फबाट पहल कदमी भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले धेरै काम गरेको र सरकारी सेवालाई झन्झट रहित र पारदर्शी बनाएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले झन्डै शतप्रतिशत बालबालिका पूर्वप्राथमिक शिक्षामा भर्ना भएका र घरजग्गा स्वामित्व पुगेको महिला २५ प्रतिशत पुगेको बताउनुभयो ।