महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जना फरार

चैत्र ७, २०८१ |विनय आजाद
महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जना फरार
महायज्ञ गर्न घर भत्काइएको स्थल र इन्सेटमा गाउँपालिका अध्यक्ष शिवजी यादव

सिरहा । सिरहाको औरही गाउँपालिका-५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीन जना फरार भएका छन् । अध्यक्ष शिवजी यादव, आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलिप यादव फरार भएका हुन् ।

घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालय जानुभएको थियो । तर, उनीहरू नभेटिएको र सम्पर्कविहीन बनेको पण्डितले बताउनुभयो ।

तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरिएको पण्डितले बताउनुभयो । “हामी घटनाबारे जानकारी लिन गएका थियौं”, उहाँले भन्नुभयो, “तर, उनीहरू सबै भागेका रहेछन् ।”

गाउँपालिका अध्यक्ष यादवसहित तीनै जनाले आगामी चैत १७ गतेदेखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए ।

अछूत भन्दै त्यहाँबाट हटाइएका मल्लिक परिवार अहिले गाउँकै एकान्तमा रहेको सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बसिरहेका छन् ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement