डोल्पालीका दुःख : स्वास्थ्य सेवा कागज र भवन हेरेर चित्त बुझाउनुपर्ने

माघ ११, २०८१ |सरोज थापा
डोल्पालीका दुःख : स्वास्थ्य सेवा कागज र भवन हेरेर चित्त बुझाउनुपर्ने

डोल्पा । क्षेत्रफलमा मुलुककै ठूलो जिल्ला डोल्पामा अहिले पनि नागरिकले उपचार नपाएरै ज्यान गुमाउनुपर्ने बाध्यता छ । विकास पूर्वाधारमासमेत धेरै पछाडि रहेको डोल्पा सदरमुकाम दुनैका अस्पतालमा दरबन्दीअनुसार चिकित्सक छैनन् भने पालिकास्तरका स्वास्थ्य संस्थामा दक्ष चिकित्सक र विशेषज्ञ उपचार सेवा दुर्लभ छ । अस्पताल पुग्न नपाएरै बिहिबार लालप्रसाद बुढाको मृत्यु भयो । यो घटनाले डोल्पालीहरूले अझै पनि स्वास्थ्योपचार सेवा कागज र भवन हेरेर चित्त बुझाउनुपर्ने अवस्थामा छन् भन्ने देखाएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ का २७ वर्षका लालप्रसाद बुढाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिहीबार राति बाटोमै मृत्यु भयो । डोल्पा अस्पतालमा उपलब्ध चिकित्सा उपकरणबाट जाँच गर्दा कलेजोमा भएको पानीको फोका फुटेर लालप्रसादको पेट दुखेको पत्ता लाग्यो । बोकेर उपचारका लागि लैजाँदै गर्दा आन्द्रामा समेत दबाब परेको देखिए पछि दुनैको अस्पतालले उपचार सम्भव नदेखेर नेपालगञ्ज रिफर गरेको डाक्टर अखण्ड उपाध्यायले बताउनु भयो । तर उहाँको बाटोमा मृत्यु भयो । जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा अकालमै मृत्युको मुखमा पुग्नु दुर्गम कर्णालीका नागरिकको नियति नै बनेको छ । 

त्यसो त डोल्पामा सुविधा सम्पन्न अस्पताल र उपकरण नै छैनन् । उपल्लो डोल्पाका केही स्वास्थ्यचौकी वर्षमा एकदिन पनि खुल्दैनन् । त्यसैले स्थानीयहरू ज्यानले धान्न नसक्ने गरी बिरामी परेपछि मात्रै उपचार खोज्दै सदरमुकाम झर्छन् । बाटोघाटोको व्यवस्था नहुँदा डोको र मान्छेको पिठ्यूँमा बोकिएर बिरामीलाई अस्पतालसम्म ल्याइपुर्‍याउनुपर्ने बाध्यता छ । बल्लतल्ल अस्पताल पुग्दा सिटामोल र जीवनजल आधारभूत जस्ता औषधीसमेत पाउन मुस्किल हुने गरेको इलाका स्वास्थ इन्चार्ज टिजा लक्ष्मि बुढाथोकी बताउनु हुन्छ ।

कर्णालीका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूका लागि कुल ९ सय ४ जनाको दरबन्दी छ । तर कुल दरबन्दीको ३६ प्रतिशत मात्रै स्थायी पदमा कार्यरत छन् । कार्यरत जनशक्तिमध्ये माथिल्लो तहका विशेषज्ञ चिकित्सकको ठूलो अभाव छ । हवाई सेवा नियमित नहुनु, भौगोलिक विककता, दक्ष चिकित्सक अभाव, आफ्नो स्वास्थ्य अवस्थाप्रति नागरिकको पनि लापरबाहीजस्ता कुराले डोल्पाका अधिकांश नागरिकको स्वास्थ्य सेवामा पहुँच नै छैन । समयमै उपचार अभावका कारण वर्षेनी धरै डोल्पालीले ज्यान गुमाउनु परिरहेको छ ।

यो पनि हेर्नुहोस : 

उपचार अभावमा गर्भवती तथा सुत्केरीहरू अकालमै ज्यान गुमाउन बाध्य

अस्पताल जाँदाजाँदै बाटोमै आमा बनिन् हुम्लाकी भान भण्डारी


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement