हुम्ला । २७ वर्षकी गर्भवती भान भण्डारीको घरबाट मात्र १५ मिनेटको दूरीमा छ नजिकैको ठेहे स्वास्थ्य चौकी । तर उहाँको तेस्रो सन्तान अस्पतालमा जन्मिन पाएन ।
गर्भावस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य जाँच चार पटक भण्डारीले ठेहे स्वास्थ्य चौकीमै गर्नुभएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले मितिभन्दा केही दिन अगाडि नै व्यथा लाग्नसक्ने भन्दै तयारीमा बस्न, घरायसी काम कम गर्न र समस्या पर्दा खबर गर्न सचेत समेत गराएका थिए । नभन्दै प्रस्तावित मितिभन्दा अगाडि नै आइतबार बिहानै भण्डारीलाई असह्य प्रसव पीडा भयो । सिमकोट गाउँपालिका-२ ठेहे गाउँकी भण्डारी तुरुन्तै स्वास्थ्य चौकी पुग्नुभयो । तर उहाँलाई प्रसव पीडा मात्र थिएन, रक्तस्रावसँगै रक्तचाप कम भएर स्वास्थ्य जटिलता निम्तिइरहेको थियो । गाउँको स्वास्थ्य चौकीले उपचार गर्न नसक्ने भयो ।
भण्डारीलाई तत्कालै जिल्ला अस्पताल सिमकोट रिफर गरियो । तर ठेहे स्वास्थ्य चौकीबाट सदरमुकाममा रहेको जिल्ला अस्पताल पुग्न तीन घण्टा लाग्थ्यो । भण्डारीलाई व्यथाले च्यापिसकेकाले जिल्ला अस्पताल पुर्याउन कठिन थियो । त्यसमाथि केही दिनअघिको हिमपातले सडकमा हिउँ जमेका कारण गाडी जान सक्ने अवस्था नै थिएन । उहाँलाई स्ट्रेचरमा बोकेर लग्नुको विकल्प भएन ।
जसोतसो ठेहे स्वास्थ्य चौकीबाट स्ट्रेचरमा बोकेर भण्डारीलाई जिल्ला अस्पतालतर्फ त हिँडाइयो तर आधा बाटो पनि नपुग्दै भण्डारी प्रसव व्यथाले छट्पटाउन थाल्नुभयो । अस्पताल पुग्न दुई घण्टा बाँकी छँदै सिमकोट-३ बरगाउँको चुकेडी भन्ने ठाउँ पुगेपछि बाटोमै भण्डारीले छोरीलाई जन्म दिनुभयो ।
अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्य चौकीका प्रमुख दाने बोहोराले बताउनुभयो ।
दुर्गमको पूर्वाधारले सुत्केरीलाई सास्ती
हुम्लाका सबै गाउँमा पुग्ने सडक बाटो र सुविधायुक्त स्वास्थ्य संस्था छैन । गाउँमा बनेका स्वास्थ्य संस्था र पालिकास्तरबाटै राखिएका स्वास्थ्यकर्मीले जेनतेन सकेको सेवा दिइरहेका छन् । तर अपर्याप्त स्वास्थ्य पूर्वाधार, दक्ष चिकित्सकको अभाव, सडक सञ्जालको दुरावस्था र स्वास्थ्य सेवामा पहुँच नभएकै कारण हुम्लाका ग्रामिण क्षेत्रका सुत्केरीहरूले पटक पटक भण्डारीकै जस्तो नियति भोग्दै आएका छन् । त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका अति गरिब, विपन्न तथा दलित समुदायलाई बढीजसो समस्या देखिने गरेको छ ।
स्वास्थ्य संस्था टाढा हुने, व्यथा लागेको बेला आफन्त नभेटिने, परिवारले समेत वास्ता नगर्ने कारणले नै समस्या निम्त्याउने गरेको जिल्ला अस्पताल हुम्लाकी नर्सिङ इन्चार्ज सरिता बोहोरा बताउनुहुन्छ । “औषधि पर्याप्त नहोला, भनेको समयमा स्वास्थ्यकर्मी नहोलान्, तर पनि भएको र उपलब्ध हुने कुराको सेवाका लागि स्वास्थ्य संस्था पुग्ने कुरामा स्वयं व्यक्ति र परिवार सचेत र जिम्मेवार नहुनु, भौगोलिक विकटता, घण्टौंको पैदल हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता र आर्थिक अवस्था लगायतका कारण जिल्लाको ग्रामिण क्षेत्रका महिला बाटोमै सुत्केरी हुनु बाध्य छन्”, बोहोराले भन्नुभयो ।
त्यसमाथि जिल्ला अस्पताल सिमकोट पुग्न कच्ची सडक सञ्जालले पनि समस्या थपेको छ । सडक खुलेको समयमा पनि जीप रिर्जभ गरेको भाडा मात्रै १० देखि १२ हजार तिर्नुपर्ने बाध्यता छ ।
उपचार अभावकै कारण रोग पालेर बस्नुपर्ने अवस्थामा रहेका हुम्लाका कैयौं महिलाहरूले सुत्केरी हुन नसकेर अकालमै ज्यान गुमाउनुपरेको छ । यी समस्या समाधानका लागि जिल्ला अस्पताल सिमकोटमै सुविधा सम्पन्न विशषेज्ञ सहितको चिकित्सक सेवा सञ्चालनमा छ । तर, सचेतनासँगै भौगोलिक विकटताका कारण पटकपटक यस्ता समस्या दोहोरिरहन्छन् ।