बेलडाँगी शिविरमा वर्षौंदेखि डोरीले बाँधिएकी छन् पर्मिला पोखरेल

कार्तिक ४, २०८१ |रमा दाहाल
बेलडाँगी शिविरमा वर्षौंदेखि डोरीले बाँधिएकी छन् पर्मिला पोखरेल

झापा । मानिसलाई डोरीले बाँधेर राख्नु मानवअधिकारका दृष्टिले गम्भीर अपराध हो । तर पनि मनोसामाजिक समस्या भएका व्यक्तिलाई घरपरिवारले नै डोरीले बाँधेर राख्ने गरेका अमानवीय घटना हाम्रै समाजमा भइरहेका छन् । 

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरकी एक युवतीलाई पनि परिवारका सदस्यले बाँधेर राखेका छन् । सुस्त मनस्थितिकी ती युवतीलाई डोरीले बाँधेर राख्नु बाध्यता भएको परिवारका सदस्य बताउँछन् ।

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरभित्रको एक छाप्रोमा भेटिएको मार्मिक दृश्य । छाप्रो नजिकै रहेको गाई गोठमा डोरीले बाँधिएकी २९ वर्षीया पर्मिला पोखरेल चिच्याइरहेकी भेटिनुभयो । 

आफ्नै नाम उच्चारण गर्दै चिच्याइरहेकी पर्मिलाको गतिविधि नियाल्दा उहाँमा मानसिक समस्या छ झैँ देखिन्छ । तर, परिवारले उहाँलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा वर्षौंदेखि डोरीले बाँधेर राखेको छ । आफूसँग शरणार्थी परिचयपत्रसमेत नभएका कारण बिरामी छोरीलाई उपचारका लागि बाहिर लैजान नसकेको उहाँका बुबाको दुखेसो छ ।

पदमलालकी अर्की छोरी उर्मिला पनि सुस्त मनस्थितिकी हुनुहुन्छ । तर, धेरै चकचक नगर्ने भएकाले उहाँलाई भने बाँधिएको छैन । ३० वर्षदेखि भुटानी शरणार्थीका रूपमा यही शिविरभित्र बसे पनि शरणार्थी परिचयपत्र पाउन नसक्दा पदमलालको परिवारले बिरामी छोरीहरूलाई उपचार गराउन पाएको छैन ।

एउटी छोरीलाई पशुसरह बाँधेर राख्नुपरेको छ । यो पोखरेल परिवारको बाध्यता भए पनि यसरी मान्छेलाई डोरीले बाँधेर राख्नु मानवअधिकार उल्लंघनको गम्भीर घटना भएको अधिकारकर्मीको तर्क छ ।

त्यसो त शरणार्थी शिविरभित्रका कसैले पनि मानवअधिकार महसुस गर्न पाएका छैनन् । त्यसमाथि डोरीमा बाँधिएर बन्धक जीवन बिताउनु झन् कति कष्टकर होला ?


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।