एनएसएल : रेफ्रीको निर्णयविरुद्ध ललितपुरले अपिल गर्ने

वैशाख ६, २०८२ |खेल ब्युरो
एनएसएल : रेफ्रीको निर्णयविरुद्ध ललितपुरले अपिल गर्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा रेफ्रीको केही निर्णयविरुद्ध ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ । पहिलो क्वालिफायर खेलमा रेफ्रीको विवादास्पद निर्णयका कारण दुई रातो कार्ड बेहोरेको ललितपुरले निर्णयविरुद्ध अपिल गर्ने जानकारी दिएको हो ।

“प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले हामीले धेरै मेहनत गर्यौं । तर एनएसएस खेलाउने रेफ्रीको स्तर नै भएन”, ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने, “रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्त्वपूर्ण खेलाडीले रातो कार्ड पाएका छन् । यो गलत निर्णयको विरुद्धमा हामीले कडा अपिल गर्नेछौं ।” 

रेफ्रीको गलत निर्णयको कारण खेलको सुरुआतबाटै १० खेलाडीमा सीमित बनेको ललितपुरले धनगढीलाई हराउँदै प्रतियोगिताको फाइनल पुगेको छ । तर पहिलो क्वालिफायर खेलमा दुई रातो कार्डका कारण फाइनल खेलअघि नै टिमलाई ठूलो झट्का लागेको छ ।

खेलको सुरुआतमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल बेहोरेका ललितपुरका मणिकुमार लामाले उल्टै रातो कार्ड पाएका थिए । छातीमा कडा ट्याकल खाएका मणिलाई खेलको १६ औं मिनेटमा मुख्य रेफ्री उमेश बिडारीले मैदान बाहिरको बाटो देखिएका थिए ।

खेलको अन्तिममा समेत खेल सम्हाल्न नसकेका रेफ्री बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाएका थिए । खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेंलो कार्ड दिए ।

रेफ्रीकै स्तर र नियतमाथि प्रश्न उठाउँदै एफसी चितवनीले यसअघि आयोजकलाई चेतावनी समेत दिएको थियो । चितवनले फ्रेन्चाइज टिमले गरेको लगानीलाई रेफ्रीको गलत निर्णयले जोखिममा पारेको भन्दै प्रतियोगिताबाट बाहिरिन सक्नेसम्मको चेतावनी दिएको थियो ।

विवादले घेरिएको नेपाल सुपर लिगको रेफ्रीको निर्णयमा पहिलो सिजनदेखि नै आलोचना र असन्तुष्टि देखिँदै आएको छ । लिगको स्तर बढाउन विदेशी रेफ्री ल्याउनेसम्मको बाचा आयोजकले गरे पनि मैदानमा त्यो काम हुन सकेको छैन ।