निर्यातजन्य बाहेकका उद्योगलाई खुला गरिएपछि बाराको विशेष आर्थिक क्षेत्रमा उद्योगीको आकर्षण

वैशाख ६, २०८२ |उपेन्द्र ठाकुर
निर्यातजन्य बाहेकका उद्योगलाई खुला गरिएपछि बाराको विशेष आर्थिक क्षेत्रमा उद्योगीको आकर्षण

पर्सा । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा यतिबेला धमाधम स्थापना र सञ्चालन हुने क्रममा छन् । ६८ वटा कित्तामा विभाजित सेजको ‘ए’ ब्लकमा यति बेला पाँच वटा उद्योग पूर्णरूपमा सञ्चालनमा आइसकेका छन् भने अरू पाँच वटा उद्योग सञ्चालनको अन्तिम तयारीमा छन् ।

सिमरास्थित सेजमा सञ्चालनमा आएको एटीएस ब्रान्डको पशुपति सेरामिक उद्योगले पछिल्लो १० महिनादेखि टायल उत्पादन गरिरहेको छ । झन्डै डेढ अर्ब रुपैयाँ लगानीमा सञ्चालित यो उद्योगले मासिक तीन लाख बाक्सा सेरामिक टायल उत्पादन गरी वार्षिक करिब ३० करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको छ । नेपालमा प्रयोग हुने टायल पहिले भारतबाट आयात हुने गरेकामा सेजमा यो उद्योग आएपछि टायल आयातलाई धेरै हदसम्म प्रतिस्थापन गर्दै निर्यात समेत प्रवर्द्धन गरेको छ ।

सेजभित्रै मार्बल र ग्रेनाइटको उत्पादन गरिरहेको लक्ष्मी ग्रेनाइट उद्योग चार महिनाअघि सञ्चालनमा आएको हो । यसले भारतको राजस्थानबाट ढुंगा आयात गरी विभिन्न साइजका मार्बल र ग्रेनाइट उत्पादन गरिरहेको छ । प्लास्टिकको प्यानल बोर्ड निर्माण गर्ने रिक्लेम नेपाल नामक उद्योग पनि हालै सेजभित्र सञ्चालनमा आएको हो । ८३३ बिघामा फैलिएको बाराको सिमरास्थित सेजको ‘ए’ ब्लकको कुल ३४३ बिघामध्ये १६० बिघा जग्गा सेजले उद्योग स्थापनका लागि छुट्याएको हो । 

६८ मध्ये ६५ वटा प्लट, २५ उद्योगीले बुक गरेकोमा यति बेला पाँच वटा उद्योग सञ्चालनमा छन् । अन्य पाँच उद्योग सञ्चालनको अन्तिम तयारीमा छन् ।

झन्डै ६ अर्ब रुपैयाँ सरकारी खर्चमा निर्माण भएको सेज पहिला शर्त राखेर निर्यातजन्य उद्योगका लागि मात्र खुला गरिएको थियो । जसका कारण उद्योगीहरू आउन मानेका थिएनन् । तर पछि अन्य उद्योगका लागि समेत खुला गरेपछि धमाधम उद्योग स्थापना हुन थालेका हुन् । यहाँ टायल तथा ग्रेनाइट, सौन्दर्य प्रशाधनका सामान उत्पादन, अटोमोबाइल, प्लास्टिक र भाँडा उद्योग स्थापना भएका छन् । 

झन्डै १० हजारले रोजगारी पाउने र आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले सिमरामा विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याएको हो ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।