मौसममा सुधार आएसँगै बिहानदेखि बन्द मन्थली–लुक्ला उडान सुरु

मन्थलीमा रोकिएका १५० जनाभन्दा बढी पर्यटक लुक्ला जाँदै
वैशाख ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मौसममा सुधार आएसँगै बिहानदेखि बन्द मन्थली–लुक्ला उडान सुरु

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा रोकिएका पर्यटकहरू लुक्ला जान थालेका छन् । ५ घण्टापछि लुक्लाको मौसम खुलेसँगै मन्थलीमा रोकिएका पर्यटक लुक्ला जान थालेका हुन् । 

लुक्ला र मन्थलीको मौसम खराब भएपछि आज बिहान ८ बजेदेखि उडान बन्द हुँदा १५० जनाभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका थिए । दिउँसो साढे १ बजेपछि लुक्लाको मौसम खुलेसँगै दिउँसो २ बजेबाट मन्थली–लुक्ला उडान सुरु भएको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताउनुभयो । बिहान साढे ८ बजेसम्म सीता, तारा र समिट एअरको गरी २० वटा उडान मार्फत ३ सयभन्दा बढी पर्यटक लुक्ला पुगेको उहाँले बताउनुभयो ।

चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मंसिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरिएको छ । बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ८५० जनासम्म पर्यटक मन्थलीबाट लुक्ला पुग्ने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.