सिरहा । सिरहाको आनन्दी सदाय मृत्यु प्रकरणमा दर्ता भइसकेको जाहेरी बदर गरी प्रहरीले नै घटना मिलाउने प्रयास गरेको खुलेको छ । आर्थिक प्रलोभनसहित प्रहरीले मिल्न दबाब दिएको पीडित परिवारको भनाइ छ ।
पुस ९ गते, बिहानको ११ बजे सिराहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदायलाई स्थानीय ३२ वर्षीय श्यामसुन्दर यादव र २२ वर्षीय सञ्जीवकुमार यादवले घेरा हाल्दै सामूहिक यौन दुर्व्यवहारको प्रयास गरेका थिए । भागेर घर पुगेकी आनन्दीले आमा बिल्टौनलाई घटनाबारे सुनाएको थिइन् ।
पीडित परिवार सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतार पुगेर 'जबरजस्ती करणी उद्योग' शीर्षकमा जाहेरी दिएका थिए । तर, प्रहरीमा जाहेरी परेपछि किटान गरिएका आरोपितमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्नुको साटो आर्थिक लेनदेन गरी घटना गाउँमै मिलाउन प्रयास भएको भेटिएको छ । घटना गाउँमै मिलाउने प्रयासमा आरोपित, आरोपितका आफन्त र स्थानीय मात्रै होइन प्रहरी नै पनि संलग्न रहेको खुलेको छ ।
आमा बिल्टौनका अनुसार, मुद्दा दिएको थाहा पाएपछि घटनाको बिहानैपल्ट आरोपित सञ्जिवका बुबा उपेन्द्र यादव र श्यामसुन्दरका बुबा शिवदत्त यादव, सरकारी शिक्षक समेत रहेका स्थानीय नरेन्द्र यादव लगायत उनको घर पुगेका थिए । उनीहरू आफ्नो घर आएर छोरी र आफूलाई दुई लाख रुपैयाँ लिएर मिलिहाल्न र नमिले उल्टै मुद्दा लगाइदिने भनेको बिल्टौनले बताउनुभयो ।
पीडक पक्ष जिल्ला प्रहरी पुगेर आएपछि आफूहरूलाई पटक पटक इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा बोलाएर प्रहरीले आर्थिक प्रलोभनसहित मिलिहाल्न दबाब दिएको पीडित परिवारको भनाइ छ ।
दलितका अगुवाहरूको दबाबपछि प्रहरील फागुन २५ मा बल्ल मुद्दा दर्ता गरेको थियो । सिराहा जिल्ला अदालतबाट श्यामसुन्दर यादव र सञ्जीवकुमार यादवविरुद्ध फागुन २६ मा पक्राउ पुर्जी पनि जारी भयो । तर उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।
यौन दुर्व्यवहार घटनामा न्यायका लागि चार महिनादेखि भौंतारिइरहेकी सिराहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय गत मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको थिइन् ।