दिशाहीन रास्वपा : नेतृत्वमाथि प्रश्न, कार्यवाहकको भरमा पार्टी

वैशाख ६, २०८२ |प्रकाश बम
दिशाहीन रास्वपा : नेतृत्वमाथि प्रश्न, कार्यवाहकको भरमा पार्टी

काठमाडौं । २०७९ सालको संसदीय निर्वाचनबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी तीन वर्ष नपुग्दै दिशाहीन जस्तै बनेको छ । सभापति रवि लामिछाने सहकारीको रकम अपचलन र संगठित अपराधको आरोपमा मुछिएपछि रास्वपाले लय धर्मराएको हो । कतिसम्म भने पार्टीका महत्त्वपूर्ण पदहरू कार्यवाहकको भरमा छन् भने महाधिवेशन पनि सार्नुपरेको छ ।

वैशाख ४ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले यही वैशाख २५ देखि २७ गतेसम्म गर्ने भनिएको पहिलो महाधिवेशन सारेर आगामी फागुन ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको छ । सहकारी ठगी र संगठित अपराधको आरोपमा सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा परेका कारण रास्वपाले पार्टीका पूर्वघोषित कार्यक्रम अघि बढाउन नसकेको हो । 

वडादेखि प्रदेश अधिवेशन गर्ने समय पनि सारिएको छ । जबकि रास्वपाले २०८१ असोज १ र २ गते राष्ट्रिय भेला गर्दै महाधिवेशन मिति घोषणा र केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गरेको थियो ।

त्यसो त रास्वपाका महत्त्वपूर्ण पद अहिले कार्यवाहककै भरमा छन् । सभापति लामिछाने थुनामा परेपछि उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । रास्वपाको महामन्त्री र प्रवक्ता समेत कार्यवाहक छन् । संस्थापक महामन्त्री मुकल ढकाल कारबाहीमा परेपछि कार्यवाहक महामन्त्रीको भूमिकामा कविन्द्र बुर्लाकोटी र सहप्रवक्ता मनीष झा कार्यवाहक प्रवक्ताको भूमिकामा छन् । 

यही बेला सहमहामन्त्री रहेकी सुमना श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । पार्टीले डेलिभरी दिने क्षमता शून्य रहेको र एक व्यक्ति एक पदको अवधारण लागू हुनुपर्ने भन्दै उहाँले राजीनामा दिनुभएको हो । त्यति मात्र नभएर श्रेष्ठले सभापति लामिछानेमाथिको आरोपलाई प्रतिशोध मात्र भन्न नमिल्ने जिकिर गर्नुभएको छ । यसले पार्टीभित्र असन्तुष्टि बढेको पुष्टि हुन्छ । तर रास्वपाका नेताहरूले यसलाई सामान्य भन्दै आएका छन् ।

गत संसदीय निर्वाचनमा संसद्‌को चौथो शक्ति बनेको रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताले हेरेका थिए । त्यही कारण उसले तीन ठाउँमा भएको संसदीय उपनिर्वाचनमा दुई ठाउँमा जित हासिल गरेको थियो । तर त्यसपछि भने सभापति लामिछाने विवादमा फस्दा र पार्टीभित्रको विवादका कारण उसको सांगठनिक गतिविधि पनि भने जसरी अघि बढ्न नसकेको हो ।

रास्वपाले पछिल्लो समयमा सातै प्रदेशमा इन्चार्ज तोकेर सांगठनिक गतिविधिलाई अगाडि बढाउने प्रयास भने जारी राखेको छ । तर नेतृत्वमाथि नै उठेको प्रश्न निराकरण नहुँदा उसलाई अगाडि जान त्यति सहज छैन । त्यसमाथि पछिल्लो समय भइरहेका गणतन्त्र विरोधी शक्ति सल्वलाइरहँदा पनि उसले आफ्नो राजनीतिक कित्ता स्पष्ट पार्न सकेको छैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।