ललितपुर सिटी लगातार दोस्रो पटक एनएसएलको फाइनलमा

वैशाख ६, २०८२ |खेल ब्युरो
ललितपुर सिटी लगातार दोस्रो पटक एनएसएलको फाइनलमा

काठमाडौं । ललितपुर सिटी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आज सम्पन्न नाटकीय पहिलो क्वालिफायरमा धनगढीलाई २-१ ले हराउँदै १० खेलाडीमा समेटिएको ललितपुर फाइनलमा पुगेको हो । 

पराजयका बावजूद धनगढी बाहिरिएको छैन । उसले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा खेल्न पाउनेछ ।

खेलको चौथो मिनेटमा नै ललितपुरका मिडफिल्डर मणिकुमार लामाको फ्रि-किक धनगढीका डिफेन्डरले बचाएका थिए । रिबाउन्ड बलमा पापा इबोएको एक्रोबेटिक पनि बेलर्फटले सुन्दर ढंगले बचाएका थिए । खेल प्रतिस्पर्धात्मक रहेकै अवस्थामा मणिकुमार लामालाई धनगढीका मोहम्मद अल जाउनीले गम्भीर फल गरेका थिए । तर रेफ्री उमेश विडारीले जाउनीलाई पहेंलो कार्ड देखाएका थिए । त्यसैक्रममा उनले मणिलाई पनि सिधै रातो कार्ड देखाए । 

यससँगै खेल केही समयका लागि विवादित बनेको थियो भने ललितपुर १० खेलाडीमा समेटियो । यता सामाजिक सञ्जालमा विडारीले बिनाकारण कार्ड देखाएको भन्दै उनको आलोचना भइरहेको छ ।

खेलको २६ औं मिनेटमा धनगढीका कृतिकरत्न छुन्जु गोलमा चुके । ललितपुरका दुई डिफेन्डरलाई छक्काएर पनि उनले पोस्टको सही दिशामा प्रहार गर्न सकेनन् । पहिलो हाफको इन्ज्युरी समयमा ललितपुरका केर्भेन्स बेलफेर्टको प्रहार पनि बाहिरिएपछि पहिलो हाफ गोलरहित बनेको हो ।

तर दोस्रो हाफमा ललितपुर फरक रणनीतिका साथ मैदानमा फर्कियो । कुनै खेलाडी परिवर्तन नगरिकनै ५७ औं मिनेटमा ललितपुरले १-० को लिड लियो । यति बेला केरभेन्सले फ्रि-किकमा सिधै गोल गरे । यता दिपेश राईलाई ६१ औं मिनेटमा प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका जिलेस्पीजंग कार्कीले मैदान प्रवेशलगत्तै गोल गरे । 

ब्राजिली खेलाडी सर्जियो बारबोजाको कर्नरमा देवेन्द्र तामाङको हेडरलाई उनले उत्कृष्ट फिनिस गरेका हुन् । तर धनगढीले त्यो बराबरी बचाउन सकेनन् । पाप इबोउ केबेले मैदानको मध्यभागबाट बल अघि बढाएर धनगढीका दुई डिफेन्डरको मार्कका बीच गरेको प्रहार गोलमा परिणत भएको हो । उनको प्रहार धनगढीका डिफेन्डरले रोक्ले मौका नै पाएनन् । त्यसपछि धनगढीको अग्रपङ्क्तिले निकै राम्रा प्रयास गरेको भए पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन ।

नेपाल सुपर लिगमा धनगढी र ललितपुरबीच भएको यो पाँचौं खेल हो । यसमध्ये तीन खेल बराबरीमा सकिएका थिए । गत सिजनको फाइनलमा धनगढीलाई हराउँदै ललितपुरले उपाधि जितेको थियो । त्यो नै ललितपुरले धनगढीविरुद्ध निकालेको एक मात्रै जित हो । खेल सकिएपछि रेफ्री उमेश बिडारीले धनगढीका खेलाडी काइसेडो र एक अफिसियललाई पनि रातो कार्ड देखाएका थिए । त्यसपछी दुवै टिमका खेलाडी र प्रशिक्षकबीच हात हालाहालको अवस्था बनेको थियो ।