काठमाडौं । मधेश प्रिमियर लिगमा शनिबार काठमाडौं रोयल्स र बलान बिहुल किंग्स विजयी भएका छन् ।
राजविराजमा जारी तेश्रो संस्करणको लिगअन्तर्गत आजको पहिलो खेलमा काठमाडौं रोयल्सले छिन्नमस्ता राईडर्सलाई ५ विकेटले पराजित गरेको हो । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गर्दै छिन्नमस्ताले ७ विकेटको क्षतिमा १५९ रन बनायो । छिन्नमस्ताका लागि शंकर राणाले सर्वाधिक ४२ रन बनाए भने दिनेश अधिकारी २२, रोहन विक २७ र सन्तोष कार्कीले १५ रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौंका अमित श्रेष्ठले ३, रूपेश सिंह र दीपेश श्रेष्ठले समान २-२ विकेट लिए । जवाफमा काठमाडौंले १९.४ ओभर खेल्दै ५ विकेट गुमाएर १६० रनको लक्ष्य पूरा गर्यो । उसका लागि तृतराज दासले सर्वाधिक ३७ रन बनाए भने किरण ठगुन्नाले ३५ रनको योगदान गरे । त्यसैगरी अशोक पौडेलले २४ र अमित श्रेष्ठले १४ रन बनाए ।
बलिङतर्फ छिन्नमस्ताका दिनेश अधिकारी, हेमन्त धामी, अभिषेक कार्की, दिवन पुनः र नारायण साउदले समान १-१ विकेट आफ्नो नाममा गरेका थिए । खेलको प्लेयर अफ दि म्याच अमित श्रेष्ठ भए ।
आजको दोस्रो खेलमा बलान बिहुल किंग्सले मिथिला वारियर्सलाई ३१ रनले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको बलानले ९ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । उसका लागि लोकेश बमले सर्वाधिक ४६ रन बनाए । त्यसैगरी सुजन थपलियाले ४३, राशिद खानले १९ रनको योगदान गरे । बलिङतर्फ मिथिलाका शेर मल्लले ४, वसन्त खत्रीले ३, तथा बसिर अहमद र नन्दन यादवले समान १-१ विकेट हात पारे ।
जवाफमा मिथिला १७.३ ओभरमा सबै विकेट गुमाएर १४६ रनमा समेटियो । स्टार खेलाडी दीपेन्द्रसिंह ऐरी, विवेक यादवको बलमा आउट भएपछि अर्का ब्याट्सम्यान बसिर अहमदले विस्फोटक ब्याटिङ गर्दै ७२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
यस बाहेक वसन्त खत्रीले २८ र सुमित महर्जनले १३ रनको योगदान गरे । बलिङमा बलानका विवेक यादव र राशिद खानले समान २-२ विकेट लिएका थिए । खेलको प्लयेर अफ दी म्याच लोकेश बम भए ।