बाँकेको पाँझा बस्ती खरानी, ३३ परिवारको उठिबास

असार ६, २०८१ |जे पाण्डे|सविता जीसी
बाँकेको पाँझा बस्ती खरानी, ३३ परिवारको उठिबास

बाँके । बाँकेको डुडुवा गाउँपालिका १ मा पर्ने छिटैपुर्वा पाँझा बस्ती जलेर खरानी हुँदा ३३ घर परिवारको उठिबास भएको छ ।

बुधबार राति हावा-हुरी आएका बेला बस्ती पुरै खरानी भएपछि खाने बस्ने ठेगान नहुँदा पीडित थप संकटमा परेका छन् । नेपालगन्जबाट पठाएको दमकल समेत बीच बाटोबाटै फर्किएपछि कुनै पनि घर बचेनन् । यादव समुदायको बस्तीका अग्निपीडितहरुले खाना-पानीसमेत नपाउँदा भोकै बस्नुपरेको बताएका छन् । तर जिल्ला विपत् व्यवस्थापन समिति र डुडुवा गाउँपालिकाले राहत वितरण गरे पनि समस्याको समाधान नहुँदा उनीहरु संकट मुक्त हुँन सकेका छैनन् ।

स्थानीय रामकुमार यादव भन्नुहुन्छ, ‘अन्नपानी सबै नष्ट भयो । गाडीसँगै पानी तान्ने इन्जिन चलेर खरानी भयो केही बचेन ।’ यस्तै आफ्नो घरसहित भएका पैसा र अनाज जलेको केशवराम यादव बताउनुहुन्छ । ‘सबै जलेर केही छैन । कसैले खाना ल्याएर दिए खान्छौं । केखाने अरु ?’ प्रेमका यादव भन्नुहुन्छ ।

यस्तै तिलकराम यादवले आफ्ना छोराछोरी भोकै रहेको र खाने पानी पनि अर्को गाउँबाट ल्याएर खानुपरेको बताउनुहुन्छ । यस्तै मनोजकुमार यादव भने कापी-किताब र स्कुल जाने साइकल जलेकाले कसरी पढ्ने भन्ने चिन्ता लागेको बताउनुहुन्छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।

Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।