जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुग्यो

कार्तिक १८, २०८० |महेश केसी|सरोज वली|सरिता चलाउने
जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुग्यो

काठमाडौं । गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै ५५ जना घाइते छन् । घाइतेहरुमध्ये ५ जनलाई थप उपचारका लागी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

त्यसैगरी छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । भूकम्पमा परी रुकुमपश्चिममा ३६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना घाइते छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्य पहाडी लोक मार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठविसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।

यस कारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्धार राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय भएर काम गर्न भनेका छन् ।

उनी स्वास्थ्यकर्मीसहित अत्यावश्यक सामग्री लिएर भूकम्पले क्षति गरेको क्षेत्र पुग्दैछन् ।

तस्बिर : सरोज वली/कान्तिपुर टेलिभिजन

सम्बन्धित समाचार...

प्रधानमन्त्री दाहाल भूकम्पले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्न जाजरकोटमा

जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि १ सय ५ बेड तयारी अवस्थामा

जाजरकोट भूकम्प : कर्णाली सरकारले पठायो राहतसहित चिकित्सकको टोली

भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताल तयारीमा

भूकम्पका घाइतेले भरिए अस्पताल (फोटो फिचर)


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।

Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।