डिग्रे मेलाको रामझम : झुम्यो रुकुम पश्चिम... (भिडियो रिपोर्ट)

मंसिर १, २०८१ |महेश केसी
डिग्रे मेलाको रामझम : झुम्यो रुकुम पश्चिम... (भिडियो रिपोर्ट)

रुकुम पश्चिम । यस वर्षका दशैं र तिहारजस्ता ठूला चाडबाड बिदा भइसकेका छन् तर पहाडी भेगमा लाग्ने परम्परागत मेलाको रमझम् भने कायमै छ । यिनैमध्येको एक रुकुम पश्चिमको डिग्रे मेला यस वर्ष पनि भव्यताका साथ आयोजना गरिएको छ ।

मुसीकोट नगरपालिका-५ स्थित थर्पूमा अवस्थित डिग्रे साइकुमारी भगवतीको मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल एकादशी देखि पूर्णिमासम्म विशेष पूजाआजासहित अन्तिम दिन मन्दिर परिसरमा यसरी मेला लाग्ने गर्दछ । स्थानीय कला संस्कृति अनि मौलिक परम्पराको अनुपम संगमका रुपमा यो मेलालाई लिन सकिन्छ ।

हजारौँ दर्शनार्थीको भिडलाई छिचोल्दै स्थानीय साँखबासीहरु मन्दिरतर्फबाट हातमा लठ्ठी लिएर बाजागाजासहित मेला पस्ने यहाँको एउटा रोचक परम्परा रहिआएको छ । यसलाई मेलाको मुख्य आकर्षणका रुपमा समेत लिइन्छ ।

मनोकामना पूरा हुने विश्वाससहित मन्दिर दर्शन गर्न र मेलाको रमझममा रमाउन यसवर्ष करिब एक लाख भन्दा धेरै भक्तजन यहाँ पुगेको अनुमान गरिएको छ ।

नित्यपूजा र दर्शनका लागि वर्षका ३ सय ६५ दिन नै खुला रहने यो मन्दिरमा कार्तिक शुक्ल पक्षमा विशेष पूजाआजासहित भव्य जमघट हुने गर्दछ । यहाँ पुगेका भक्तजनले आफ्नो भाकल पूरा भएको विश्वाससहित बोकाको बली पनि दिने गर्दछन् । मन्दिर दर्शन र मेला भर्नका लागि रुकुम पश्चिम र आसपासका साथै टाढा-टाढाबाट भक्तजनहरु यहाँ पुग्ने गर्दछन् ।

कोही सिँगारु भाका झुमिरहेका कोही मयुर नाचमा रमिरहेका । कोही साथीसँगको भेटमा जमेका, अनि कोही चाहिँ चर्खे पिङको मच्चाईमा रमेका । के बालक, के युवा अनि के बुद्धबुद्धा सबैलाई मेलाको रमझमले छपक्कै छोपेको छ ।

अघिपछि आफ्नै कामधाममा व्यस्त रहनेहरु यसप्रकारका मेलापर्वमा रमाउन पाएर खुसी भएका छन् । यहाँको पुजाआजा र मेलालाई व्यवस्थित गर्न स्थानियहरुले पनि आ-आफ्नो जिम्मेवारीसहित व्यवस्थापन र सहजीकरण गरेका छन् ।

हाम्रो आस्था र विश्वासलाई बलियो बनाउदैं आपसी सहिष्णुता र प्रेमलाई कायम राख्न यसप्रकारका मेलापर्वहरुको निकै ठूलो भूमिका हुने गर्दछ । यसकारण यसको संरक्षण र निरन्तरता जरुरी छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement