बाँके । जाजरकोट भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पतालमा चिकित्सकसहितको टोली तयारीमा अवस्थामा राखिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा घाइते भएका सिकिस्त बिरामीलाई नेपालगन्ज ल्याए चिकित्सकसहितको टोली तयारी अवस्थामा छ ।
यसको संयोजनका लागि नरेश श्रेष्ठलाई तोकिएको छ । उपचारका लागि आवश्यक परे ९८५११३४६६६ मा सम्पर्क गर्नसमेत भनिएको छ ।
शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा मानवीय र भौतिक क्षति भएको छ ।
भूकम्पमा सख्त घाइते भएका जाजरकोटका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ ।
भूकम्पबाट बिहान ६ बजेसम्मको विवरणअनुसार ५४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका २८ जना र जाजरकोटका २६ जना छन् ।
जाजरकोट सहकर्मीका अनुसार १४ महिला र १२ पुरुष गरी २६ जनाको मृत्यु भएको हो । ३८ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
क्याप्सन : जिल्ला अस्पताल जाजरकोटमा भूकम्पका घाइतेको उपचार गरिँदै । तस्बिर : सरोज वली/कान्तिपुर टेलिभिजन