भक्तपुर । भक्तपुरमा शुक्रबार साँझ भएको ट्र्याक्टर दुर्घटनाका घाइते मध्ये एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन् । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-५ निवासी ४५ वर्षीय हरि गोविन्द सुवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुवाललाई थप उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गरिएकोमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो ।
ट्रयाक्टरमा रहेकामध्ये घाइते ४ जना भक्तपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु, ७४ वर्षीय पूर्णकेसी शिल्पकार डिस्चार्ज भएका हुन् ।
दुर्घटनामा घाइते भएका ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार जारी छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।