काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय अखबार 'द हिन्दु' सँगको अन्तर्वार्तामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीको भर्त्सना गरेको छ ।
नेकपा एमालेले शनिबार अङ्ग्रेजी भाषामा एक विज्ञप्ती जारी गर्दै दाहालले लगाएको आरोप निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य भएको जनाएको हो ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष दाहालले 'द हिन्दु'मा दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेको’ उल्लेख गर्दै ओलीको चीन भ्रमणको निर्णयलाई अपरिपक्व भन्नुभएको छ ।
एमालेका सचिव तथा विदेश विभाग प्रमुख रघुविर महासेठले जारी गरेको विज्ञप्तिमा भनिएको छ- उहाँका भनाइहरु कूटनीतिक प्रोटोकलको सरासर उल्लंघन हो र नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना देखाउँछन् । सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन ।
एमालेले दाहालको भनाइ नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक रहेको भन्दै दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र माफी माग्न आग्रह गरेको छ ।
‘दाहालको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ,’ विज्ञप्तिमा भनिएको छ ।