
काठमाडौं । हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा सरकारले भोलि आइतवार होटल व्यवस्थापनसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले हायात होटल बन्दबारे चासो व्यक्त गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई थप बुझ्न र सहजीकरणका लागि निर्देशन दिनु भएको थियो । सोही अनुरुप अर्थमन्त्री खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिनु भएको छ ।
कुराकानीको क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह पनि गर्नुभयो । खनालले होटल व्यवस्थापनसँग भन्नुभयो , ‘तपाईँहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’
होटल व्यवस्थापनसँग सरकारले भोलि थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ ।