संसदको अवरोध खुलाउन एमाले सहमत, जलहरीबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
संसदको अवरोध खुलाउन एमाले सहमत, जलहरीबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा बैठक सञ्चालन हुन दिने भएको छ ।

सिंहदरबारमा आज भएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभा सञ्चालनमा एमालेले सहमति जनाएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएपछि संसदको अवरोध खुलाउन एमाले सहमत भएको हो । प्रधानमन्त्री दाहालले जलहरी ‍‍राख्ने क्रममा भ्रष्टाचार भएकोबारे संसदलाई जानकारी दिने भएका हुन् । जलहरीबारे प्रधानमन्त्रीले नै सम्बोधन गर्ने सहमतिपछि एमाले संसद अवरुद्ध गर्ने निर्णयबाट पछि हटेको हो । साथै माओवादी सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने पनि समझदारी भएको छ ।

एमालेको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सहमति जुटाउन प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् । छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्ण बहादुर खड्का , एमाले नेता पदम गिरी र कांग्रेस नेता रमेश लेखक पनि सहभागी थिए ।

प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय भएको छ ।

सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरमा सुनको सट्टा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो ।

जेठ १० गतेको संसद बैठकमा माओवादी केन्द्रका सांसद दाहालले ओलीलाई पशुपतिमा सुनको सट्टा पित्तलको जलहरी चढाएको आरोप लगाएका थिए ।

एमाले सांसदहरुले पशुपतिको जलहारी सुनको हो कि पित्तल ? भनी संसदमा प्रष्ट पार्नु पर्ने, त्यसको छानबिन तथा सांसद दाहालले माफी माग्नुपर्ने र अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने माग राखेका थिए ।

थप समाचार...

महालेखाको प्रश्न : शिवलिंगको रिङमा लगाएको सुन खोई ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.