
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भेनेजुयलास्थित कोकेन केन्द्र तथा लागुपदार्थ ओसारपसारका रूटमा कारबाही गर्ने तयारी गरेको छ।
यसका लागि अमेरिकाले विश्वकै ठूलो युद्धपोत जेराल्ड आर फोर्ड क्यारेबियन सागरमा तैनाथ गर्ने भएको छ । लागुपदार्थ तस्करविरूद्धको हवाई आक्रमण जारी राखेको अमेरिकाले भेनेजुयलामाथि स्थल कारबाही गर्ने संकेत गरेको हो ।
केही समययता अमेरिकाले लागुऔषध तस्करविरूद्ध १० वटा हवाई आक्रमण गरिसकेको छ । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले क्यारेबियनमा गरिएको कारबाहीमा लागुऔषध कारोबारका ६ आतंकवादी मारिएको बताउनुभएको छ । ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई लागु पदार्थ तस्करका नेता भएको आरोप लगाउनुभएको छ ।
तर, राष्ट्रपति मडुरोले भने लागुपदार्थ तस्करविरूद्धको कारबाही भनिए पनि आफूलाई सत्ताबाट हटाउने अमेरिकी लक्ष्य भएको बताउनुभएको छ । सन् २०२४ को निर्वाचनमा निर्वाचित भएको घोषणा गरिए पनि निर्वाचन निष्पक्ष नभएको भन्दै अमेरिकाले मडुरोलाई मान्यता दिएको छैन ।
पेन्टागनले युद्धपोतलाई दक्षिण कमाण्ड क्षेत्रमा तैनाथ गरिने जनाएको छ, जसले मध्य तथा दक्षिणी अमेरिका तथा क्यारेबियन क्षेत्रलाई हेर्छ । जेराल्ड आर फोर्डले ९० वटासम्म विमान बोक्न सक्छ । यो तैनाथीले लागुऔषध ओसारपसारलाई समाप्त पार्ने र अन्तर्राष्ट्रिय आपराधिक संगठनलाई कमजोर बनाउने पेन्टागनले जनाएको छ।
गत अक्टोबरमा प्रशान्त महासागरमा अमेरिकाले गरेको आक्रमण ४३ जनाको मृत्यु भएको थियो ।