यानिक सिनर भियना ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

कार्तिक ८, २०८२ |खेल ब्युरो
यानिक सिनर भियना ओपन टेनिसको सेमिफाइनलमा प्रवेश
Photo Source : Agency

काठमाडौं । यानिक सिनर अलेक्जान्डर बुब्लिकमाथि सोझो सेटको जित हात पार्दै भियना ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् ।

इटालियन सिनरले काजख्स्तानका बुब्बिलकलाई पहिलो सेटमा ६-४ ले हराएका थिए । दोस्रो सेटमा पनि चार पटकका ग्रान्डस्लाम च्याम्पियन सिनरले त्यति धेरै चुनौतीको सामना गर्नु परेन । यो सेट ६-४ ले जित्दै विश्व नम्बर दुई सिनरले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । 

उनी सन २०२५ मा चौथो उपाधिबाट अब मात्र दुई जितले पछि छन् । सिनर यो वर्ष खेलेका चार वटै ग्रान्डस्लामको फाइनल पुगे । जसमा उनले अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन उपाधि हात पारेका थिए । गत जुनमा बुब्लिकसँग पराजित भएका सिनरले यो पटक भने उत्कृष्ट प्रदर्शन गरे । 

उनले पछिल्ला ६६ खेलमा ६० खेलमा जित हात पारेका छन् । सिनर इन्डोर हार्ड कोर्टमा १९ खेलदेखि अपराजित छन् । यस्तै भियना पनि पछिल्ला सात खेल यता हार बेहोरेका छैनन् । सिनर २०२३ को भियना ओपन च्याम्पियन हुन् । 

यस्तै जर्मनीका अलेक्जेन्डर ज्वेरेभले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । योसँगै ज्वेरेभ वर्षको अन्तिम प्रतियोगिता एटीपी फाइनल्सका लागि पनि छनोट भए । क्वार्टरफाइनलको खेलमा ज्वेरेभका प्रतिद्वन्द्वी डच खेलाडी टेनोल ख्रास्क्परले वाल्कओभर दिए । 

जसका कारण उनी एटीपी फाइनल्स पुग्ने चौथो खेलाडी बने । सिनर, कार्लोस अल्काराज र नोभाक जोकोभिच यसअघिनै छनोट भइसकेका छन् ।