
मनाङ । पछिल्लो समय मनाङको तिलिचो ताल घुम्न जाने पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
तिहार सकिए लगतै लमजुङको बेसीसहर हुँदै मनाङको तिलिचो तालसम्म जाने पर्यकको संख्या बढेको हो । गत वर्षको तुलनामा विदेशी पर्यटक समेत बढेका छन् । गत असोजमा मात्र यस क्षेत्रमा ६ हजार ५ सय ४८ जना विदेशी पर्यटकले मनाङ भ्रमण गरेको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिनुभयो ।
नेपाली पर्यटकको आकर्षण झन पछिल्लो समय बढ्दै गएको छ । तिहार सकिएपछि नेपाली पर्यटकको लर्को नै छ । शनिबार तिलीचोतर्फ जाने पर्यटकको संख्या बढ्दा बेस क्याम्प क्षेत्रमा सबै होटल प्याक भएका छन् । बेस क्याम्प पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई व्यवस्थापन गर्न हम्मे-हम्मे परेको बेस क्याम्प क्षेत्र पर्ने मनाङ निस्याङ गाउँपालिका-९ का वडा अध्यक्ष छोल्पो बहादुर गूरूङले बताउनुभयो ।
आएका पर्यटकलाई जसरी भए पनि व्यवस्थापन गरीरहेकाे उहाँले बताउनु भयो । अहिले तिलिचो क्षेत्र जानाका लागि मात्र दैनिक झन्डै एक हजार हाराहारिमा नेपाली र विदेशी पर्यटक मनाङ पुगेका छन् । यो बेला होटलहरूको पूर्व तयारी गरेर आउन अध्यक्ष गुरूङले आग्रह गर्नु भएको छ ।