डोम समुदाय : संस्कृतिमा सम्मान पाए पनि जातीय छुवाछुत र भेदभावबाट प्रताडित

कार्तिक ८, २०८२ |विनय आजाद
डोम समुदाय : संस्कृतिमा सम्मान पाए पनि जातीय छुवाछुत र भेदभावबाट प्रताडित

सिरहा । संस्कृतिले नै डोम समुदायको सम्मान गरेको छ । 

उनीहरूले हातले बनाएका बाँसका सामग्री सबैजसो सांस्कृतिक र धार्मिक काममा प्रयोग हुन्छ। अहिले छठ लागेसँगै त्यही समुदायले बनाएका बाँसका सामग्री प्रयोग गरिन्छ तर यो समुदाय भने अझै पनि जातीय छुवाछुत र भेदभावबाट प्रताडित छ ।

कात्तिक अर्थात् सूर्य उपासनाको पर्व छठ हुने महिना । छठमा बाँसका सामग्रीहरूको प्रयोग अनिवार्य हुन्छ । छठमा मात्र होइन, विवाहसहित विभिन्न पूजाआजा, श्राद्धलगायतमा पनि बासबाट बनाइएका सामग्रीको प्रयोग हुन्छ । यति धेरै महत्व बोकेको बाासका सामग्री भने डोम समुदायले बनाउाछन् । अरु बेला बेरोजगारजस्तै रहने यो समुदायको व्यस्तता यस्तो बेला निकै बढ्छ । छठमा खासगरी बाँसका ढाकी, नाङ्लो, कुनिया, टपरीलगायत प्रयोग हुन्छ । 

बजारमा भित्रिएको पित्तल, स्टिल र प्लास्टिकका सामानका कारण पछिल्लो समय बाँसका सामग्रीको माग त घटेको छ, तर यसको महत्व भने घटेको छैन । यसबाट अहिले पनि एउटा सिजनमा प्रतिपरिवार २० देखि ३० हजारसम्म रूपैयाँ उनीहरूले आम्दानी गर्छन् ।

तर, जीविका चलाउने आधारकै रूपमा रहँदै आएको बाँसका सामग्रीको बिक्री हुने सिजनमा यो समुदाय जति खुसी छन्, त्यति नै दुःखी पनि छन् । किनकि, कानूनी रूपमा छुवाछुत अन्त्य भएको धेरै भइसके पनि यो समुदाय अझै समाजमा छुवाछुतको मार खेपिरहेका छन् । 

सिरहाको औरही गाउापालिका-५, औरहीमा जनप्रतिनिधिकै रोहबारमा महायज्ञ लगाउने नाममा २०८१ फागुन मा अछुत भन्दै डोम समुदायका दीपक मल्लिकको घर भत्काइएको घटना, गत भदौमा सुखीपुर नगरपालिका-१० विश्वकर्मा चोकमा बसोबास गर्दै आएका गणपति मल्लिक डोमको परिवारमाथि अछूत भन्दै कुटपिट भएको घटना यसका ताजा उदाहरण हुन् । 

मधेशमा अति विपन्न र अल्पसंख्यक जातिको सूचीमा पर्ने डोम समुदायसँग समाजले मात्र होइन, राज्य संयन्त्रले समेत कुन तहको अमानवीय व्यवहार गर्दै आएको छ भन्ने कुरा यसले उदांगो पार्छ । डोम समुदाय मात्र होइन, मधेशका मुसहर, चमार, हल्खोरलगायतका समुदाय पनि यस्तै विभेद र छुवाछुतबाट प्रताडित छन् । 

उनीहरूमाथि गाउँदेखि, विद्यालय, बजारसम्म विभेद र छुवाछुत मात्र होइन, अछुत भन्दै कुटपिटसम्मका घटना हुँदै आएका छन् । समाजमा दलित समुदायमाथि हुँदै आएको व्यवहार दण्डनीय भए पनि राज्यले नै मलजल गर्दा यसको अन्त्य हुन नसकिरहेको बुद्धिजीवीहरू बताउँछन् ।

राज्यले छुवाछुत अन्त्य र दलित समुदायको उत्थानका लागि ठूलो खर्च गर्दै आएको छ । तर, समाजबाट न छुवाछूत हट्न सकेको छ, न त दलित समुदायको जीवनमा परिवर्तन आउन सकेको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।