
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडी, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ ।
यी ठाउँहरूमा महानगरले सरसफाइको कार्य थालनी गरेको पाण्डले जानकारी दिनुभयो । उहाँकाअनुसार ३ सय भन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन् । काठमाडौं महानगरले छठ पर्व मनाउनको लागि कुनै कमी नहुने गरी व्यवस्थित रूपमा तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताउनु भयो । उहाँले कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गर्नुभयो । उहाँले छठ पर्व मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि आग्रह गर्नुभयो । यसवर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ । छठ पर्व नदी किनारामा गएर सूर्यको पूजाआराधाना गरेर मनाइन्छ ।