दाहाल र मोदीको उधारो आश्वासन : एकातिर कागज, अर्कातिर भाषण

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
दाहाल र मोदीको उधारो आश्वासन : एकातिर कागज, अर्कातिर भाषण

नयाँदिल्ली । भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज दोस्रो दिन दुईपक्षीय बैठक र राजनीतिक भेटघाटमा व्यस्त रहे । प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँगै संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गरे । यसक्रममा विभिन्न ७ वटा समझदारीपत्रमा दुई देशका अधिकारीहरुले सम्झौता गरे ।

तर, कागजमा भएका लिखित सम्झौता एकातिर र प्रधानमन्त्रीको भाषण अर्कातिर जस्तै तालमेल नमिलेको पाइयो । जस्तो– लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि नेपाललाई फिर्ता गर्नेबारे छलफलसम्म गर्न नचाहेका भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्गा समाधान गरिने भाषण गरे । उनले नेपाल–भारत सम्बन्ध सुपर हिट हुने दाबी गरे ।

नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि भारतसँग सहयोग माग्ने नेपाली टोलीको कार्यसूची थियो । तर, यसमा कुनै सहमति भएन । तथापि दुबै देशका प्रधानमन्त्रीले यसबारे कुरा भएको बताए । उनीहरुको अभिव्यक्तिले भाषण कागज एकातिर, भाषण अर्कैतिर जस्तो देखियो ।

प्रधानमन्त्री दाहालले हवाई रुट लगायतका नेपालको चासोबारे मोदीसँग कुराकानी भएको भाषणमा आश्वस्थ पार्न खोजे पनि कागजमा यसबारे कुनै सहमति, समझदारी भएन ।

नेपाल र भारतवीच १० वर्षे विद्युत व्यापार सम्झौता भएको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री दाहालले भाषणमा बताए पनि कागजमा सम्झौता भएन । यसबारे नेपालले भारतसँग २५ वर्षका लागि दीर्घकालीन विद्युत व्यापार सम्झौता गर्न चाहेको थियो । तर, नेपाली टोली दिल्ली पुगिसकेपछि भारत यसबाट पछि हटेको थियो । प्रधानमन्त्री दाहालले भारतीय पक्षलाई विद्युत व्यापार सम्झौता नगर्ने हो भने कर्णाली र अरुणमा नेपालले सम्झौता नगर्ने अडान राखेपछि विहीबार बिहान भारतीय पक्ष २५ को साटो १० वर्षे सम्झौता गर्न तयार भएको हो । तर, त्यहाँको मन्त्रिपरिषदबाट निर्णय नभएका कारण औपचारिक सम्झौता हुन बाँकी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

तथापि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कान्तिपुर टेलिभिजनसँग भने, ‘अब १० वर्ष भारतले विद्युत खरिद गर्नुका साथै २५ वर्ष व्यापार सम्झौता गर्ने बाटो खुलेको छ ।’

बंगलादेशलाई ५० मेगावाट विजुली बेच्ने नेपालले दुईदेशीय सम्झौता गरिसकेको छ । तर, भारतले यसमा लिखित सहमति जनाएको छैन । यसबारे सहमति भएको प्रधानमन्त्री दाहालले बिहीबारको संयुक्त पत्रकार सम्मेलनमा मौखिक जानकारी दिएका छन् ।

थप...

अतिक्रमित नेपाली भूमीबारे १ शब्द पनि बोलेनन् प्रधानमन्त्री मोदीले
नेपालले महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु मागेको थियो, भारतले सिर्सा र झुलाघाटमा २ पुल दियो
हैदरावाद हाउसको वार्ता : भारतले के लियो, नेपालले के पाएन ?
मोदीको भाषणको पूर्णपाठ : सिमानाको मुद्दा पनि समाधान गरिनेछ (भिडियोसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.