काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका केही व्यक्तिलाई आममाफी र बाँकी सजाय माफी गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
जेठ १५ गते (भोलि) गणतन्त्र दिवसको अवसरमा चौधरीको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको मन्त्री शर्माले जनाइन् ।
यसअघि जेठ २ गते सर्वोच्च अदालतले २०७२ भदौ ७ गते कैलालीको टीकापुर घटनाका दोषी रहेको आरोपमा कारागारमा रहेका चौधरीको यसअघि जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको थियो ।
सर्वोच्चले चौधरीको जन्मकैदको सजाय सदर गरे पनि सोही मुद्दाका आरोपी सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको थियो ।
सर्वोच्चको फैसलापछि चौधरीले बाँकी कैद सजाय माफीको निवेदन दिएका थिए । उक्त निवेदन गृहमन्त्रालयमार्फत राष्ट्रपति कार्यालयमा पुगेको थियो । त्यसपछि राष्ट्रपति कार्यालयले चौधरीको निवेदन गृह मन्त्रालयलाई फिर्ता गर्दै कानुनबमोजिम प्रक्रिया अगाडि बढाउन राय दिएको थियो ।
एक नाबालकसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको टीकापुर घटनामा दोषी ठहर भई २०७४ फागुन १५ देखि चौधरी थुनामा छन् । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट कैद सजाय माफी भएमा चौधरीको करिब १५ वर्ष सजाय मिनाहा हुनेछ ।
थप समाचार...
रेशम चौधरीलाई आममाफी : राष्ट्रपति कार्यालयले भन्यो- कानुनबमोजिम गर्नू
रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको तयारी, निवेदन राष्ट्रपति कार्यालय पुग्यो
पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिन गृह मन्त्रालयले अघि बढाएको प्रक्रिया नै जटिल