रेशम चौधरीलाई आममाफी : राष्ट्रपति कार्यालयले भन्यो- कानुनबमोजिम गर्नू

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
रेशम चौधरीलाई आममाफी : राष्ट्रपति कार्यालयले भन्यो- कानुनबमोजिम गर्नू

काठमाडौं । टीकापुरमा घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा पुगेको निवेदन गृह मन्त्रालयमा फिर्ता भएको छ ।

चौधरीको आममाफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम प्रक्रिया अगाडि बढाउने रायका साथ राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा चौधरीको फाइल फिर्ता गरेको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कानुनी रुपमा बाधा नहुने गरी निर्णय लिन सरकारलाई राय दिइएको छ ।

चौधरी २०७२ भदौमा एक नाबालकसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको टीकापुर घटनामा दोषी ठहर भई २०७४ फागुन १५ देखि थुनामा छन् । चौधरीले जन्मकैदको सजाय काटिरहेका छन् भने उनकी श्रीमती रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ ।

कैद सजाय माफी गर्ने निर्णय भएमा चौधरीको करिब १५ वर्ष कैद सजाय मिनाहा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.