काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थीका विषयमा संयुक्त राष्ट्र संघका साथै अमेरिकाले पनि चासो दिएको र त्यो स्वभाविक भएको बताएका छन् । साथै नक्कली शरणार्थीको विषयलाई अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले पनि हेरिरहेको हुन सक्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।
शनिबार बिहान कान्तिपुरसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मलाई अहिले एफबीआई नै प्रत्यक्ष संलग्न भएको वा त्यसले प्रभावित पारेको भन्ने त लाग्दैन । तर, म के ठान्छु भने पक्कै पनि उनीहरुले चासो लिएकै होलान् र उनीहरुले कुनै न कुनै रुपमा यसलाई हेरेकै होलान् भन्ने चाहिँ मलाई लाग्छ ।’
तर, यो प्रकरणमा नेपाल सरकारले आफैं अनुसन्धान गरिहरेको प्रधानमन्त्रीको भनाइ छ । उनी अगाडि भन्छन्, ‘अहिलेको यो अनुसन्धानको प्रक्रिया या कता पट्टि कसरी अनुसन्धानको प्रक्रिया अगाडि बढाउने भन्नेमा चाहिँ कुनै पनि अन्तरराष्ट्रिय शक्तिको हात छैन । यो चाहिँ नेपाल सरकारको र नेपाल प्रहरीकै आफ्नै क्ष्मता, आफ्नै मूल्यांकन र आफ्नै पहलकदमीमा भएको छ ।’
नक्कली शरणार्थी प्रकरणबारे प्रधानमन्त्री दाहालको भनाइ, उनकै शब्दमा–
अहिले सुशासनको सन्दर्भमा यो नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण आइपुर्यो । कान्तिपुर मिडिया ग्रुप र कान्तिपुरलाई खास गरी म विशेषरुपले धन्यवाद भन्न चाहन्छु, तपाईहरुले यो विषयलाई गम्भीरतापूर्वक उठाउने र जनताका वीचमा पुर्याएर सरकारलाई सुशासनतिर अगाडि बढ्न प्रेरित गरेकोमा म धन्यवाद भन्न चाहन्छु । तपाईहरुको भूमिका राम्रै स्थापित पनि भयो ।
र, यो कुरालाई हामीले गृह प्रशासन र प्रहरी प्रशासनलाई भनेको कुराचाहिँ यो विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भन्ने मान्यताभित्रबाट दह्रो आत्मविश्वास र दृढताका साथ अगाडि बढ्न हामीले गृह मन्त्रालयलाई पनि र आइजी साहेबलाई, प्रहरीलाई पनि मैले पटक पटक निर्देशन दिएँ र प्रहरीले पनि आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिएर नै पूरा गर्यो र गरिरहेको छ । र, अझै गर्छ भन्ने मेरो विश्वास पनि छ । किनकि अहिले सरकार एउटा संकल्पमा छ । एउटा प्रतिवद्धतामा छ । राम्रो गर्ने, नराम्रो गर्दै नगर्ने मैले भन्ने गरेको छु । त्यही मान्यता अन्तरगत नै यो काम भएको छ । मलाई लाग्छ, कोही पनि दोषी छुट्दैन, कुनै कुनै रुपमा त्यो दोष अगाडि आउँछ ।
अब यो अदालतमा लानुपर्ने, हाम्रो ६० दिनको वैधानिक व्यवस्था अनुसार पुर्याउनैपर्छ । तर, फेरि त्यसमा कोही दोषी देखिएका संकेत छन् भने त्यसको अनुसन्धान प्रक्रिया रोकिन्छ भन्ने चाहिँ मैले बुझेको पनि छैन । र, रोकिँदैन पनि ।
यो विषय फेरि सामान्य भुटानी शरणार्थी नक्कली बनाउने कुरा मात्रै छैन । यो समग्रमा देशको सुशासनलाई हामी कसरी अगाडि बढाउँछौं भन्नेसँग जोडिएको छ । हामीले भ्रष्टाचार लगायत विकृति विसंगतिहरुलाई नियन्त्रण गर्न कुन ईच्छाशक्तिका साथ हामी अगाडि बढ्छौं भन्ने कुरा पनि हो यो । र, देशको अन्तरराष्ट्रिय छविलाई कसरी फेरि कायम गर्न सक्छौं र भन्ने प्रश्नसँग जोडिएको छ । यो अब नेपालको, पाटीहरुको, सरकारको मात्रै रहेको छैन । यो आम नेपाली जनताको विषय पनि भएको छ र यो विषयलाई अन्तरराष्ट्रिय क्षेत्रमा पनि बडो गम्भीरताका साथ हेरिएको विषय भएको छ ।
भुटानी शरणार्थी पहिल्यै अमेरिका लगायतका देशहरुमा लाने प्रक्रिया भएको हुनाले भुटानी शरणार्थीहरुको कसरी व्यवस्थापन हुन्छ, नेपाल सरकारले कसरी यसलाई अगाडि बढाउँछ भन्नेतिर स्वाभाविक चासो अन्तरराष्ट्रिय संघ संस्थाको छ । त्यसमा पनि भुटानी शरणार्थीहरु अमेरिकाले नै लगेको हुनाले अमेरिकाको चासो हुनु अस्वाभाविक होइन ।
मलाई अहिले एफबीआई नै प्रत्यक्ष संलग्न भएको वा त्यसले प्रभावित पारेको भन्ने त लाग्दैन । तर, म के ठान्छु भने पक्कै पनि उनीहरुले चासो लिएकै होलान् र उनीहरुले कुनै न कुनै रुपमा यसलाई हेरेकै होलान् भन्ने चाहिँ मलाई लाग्छ । तर, अहिलेको यो अनुसन्धानको प्रक्रिया या कता पट्टि कसरी अनुसन्धानको प्रक्रिया अगाडि बढाउने भन्नेमा चाहिँ कुनै पनि अन्तरराष्ट्रिय शक्तिको हात छैन । यो चाहिँ नेपाल सरकारको र नेपाल प्रहरीकै आफ्नै क्षमता, आफ्नै मूल्यांकन र आफ्नै पहलकदमीमा भएको छ ।
सम्बन्धित समाचार...
नयाँ इतिहास रचिन्छ होला भन्ने विश्वासका साथ भारत जाँदैछु : प्रधानमन्त्री (भिडियोसहित)
देश दुर्घटनामा जाला कि भन्ने चिन्ताले बालकोट गएँ : दाहाल